इटहरी- लकडाउन उल्लंघन गरी ईंटाभट्टा चलाएको विषयमा विवाद हुँदा सुनसरीको दुहबीमा झडप भएको छ। दुहबी नगरपालिका ९ छातावेलीमा रहेको जयबाबा ईंटा उद्योग सञ्चालन गरेको विषयमा स्थानीय दुई समूहबीच झडप भएको हो। शनिबार बिहान ईंटाभट्टा चलाउने र बन्द गर्ने पक्षबीच विवाद भएपछि त्यसले उग्ररुप लिएको थियो। दुई समूहबीचको झडपमा १३ जना स्थानीय घाइते भएको दुहबी प्रहरीले जनाएको छ।
१३ जना मध्येकै एक ताबिज मियाँका अनुसार लकडाउनको बेला भट्टा चल्दा भारतीय मजुदर गाउँघुम्ने र कोरोना संक्रमण फैलने भन्दै स्थानीयले विरोध गरेका थिए। सो विषयमा प्रहरी र संचारकर्मीहरुलाई सूचना दिएको भन्दै वडा नम्बर ९ का वडाध्यक्ष मेंहदी हुसेनको निर्देशनमा आफूहरुमाथि आक्रमण भएको उनले बताए।
वडाध्यक्ष हुसेनले काम छ भन्दै बोलाएको र किन भट्टा सञ्चालन गरेको भन्दै हुसेनले कुटपिट गर्न लगाएको उनको आरोप छ। लकडाउन भएको बेला पनि भट्टा संचालन भएकोबारे प्रहरीलाई पटक–पटक खबर गर्दा पनि काम नरोकिएपछि स्थानीयले प्रतिकार गरेको हुन सक्ने उनको भनाइ छ।
पश्चिम बंगालका मजदुर भट्टामा काम गर्न आएको र विभिन्न बहानामा गाउँ छिर्ने गरेकोमा स्थानीयले विरोध जनाउँदै आएका थिए। दुई सातादेखि जारी लकडाउन अवज्ञा गरी उद्योग चलाएको र कोरोना संक्रमणको फैल्याउने खोजेको स्थानीयको आरोप छ।
भट्टा संचालक पक्ष र स्थानीय युवाबीच भएको झडपमा एक प्रहरीसहित १३ जना युवा घाइते भएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय दुहबीका प्रमुख प्रहरी निरीक्षक प्रवीण कार्कीका अनुसार घाइतेको अवस्था सामान्य छ। दुई पक्षबीच यसअघि पनि पटकपटक झगडा हुने गरेको निरीक्षक कार्कीले बताए। दुवै पक्षका १२ जना घाइतेहरुको अहिले दुहबीस्थित सुनसरी सामुदायिक अस्पताल र जीवनज्योति पोलिक्लिनिकमा उपचार भइरहेको छ।
उता वडाअध्यक्ष हुसैनले भने आफूले कसैलाई हातपात नगरेको र कोही कसैलाइ निर्देशन समेत नदिएको बताएका छन्। राहतको विषयलाई लिएर स्थानीयहरूबिच झडप भएको र सो जानकारी आउनासाथ प्रहरीलाई खबर गरेको उनको भनाइ छ।
घटनाका प्रत्यक्षदर्शी छाताबेली मदरसाका प्रमुख मोल्बी (धर्म गुरु) मोहम्मद मोलिमका अनुसार राहतको विषयमा कुनै कुरै उठेको थिएन। भारतीय मजदुरकै विषयमा झडप भएको र झडप भएको दुई घण्टापछि राहत वितरण गरिएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।