राजविराज– भारतको नयाँदिल्लीस्थित निजामुद्दीनमा आयोजित मुस्लिमहरुको धार्मिक कार्यक्रममा सहभागीहरुमा कोरोना भाईरसको संक्रमण देखिएपछि त्यहाँ सहभागी भई फर्केका नेपालीहरुको खोजतलास सप्तरीमा तीव्र पारिएको छ।
प्रहरीले बिहीबार मात्रै उक्त कार्यक्रममा सहभागी भएर घर फर्किएका २६ जनालाई नियन्त्रणमा लिएर विभिन्न क्वारेन्टाईनमा पठाएको छ। लकडाउनको समयमा चोर बाटो हुँदै सप्तरी फर्केका उनीहरुलाई खोजतलास गरी क्वारेन्टाईनमा पठाईएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
सप्तरीमा बिहीबार साँझसम्म क्वारेन्टाईनमा राखिएका २११ मध्ये ५८ जना जना सोही कार्यक्रमबाट फर्किएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियाँलाल यादवले जानकारी दिए। उनीहरुलाई राजविराज, कञ्चनरुप, डाकनेश्वरी, हनुमाननगर, बोदेबरसाइन, तिलाठी कोइलाडीलगायतका स्थानीय तहमा रहेका क्वारेन्टाईनमा राखिएको यादवको भनाइ छ।
उक्त सभामा सहभागीमध्ये कोरोनाका कारण १५ जनाको मृत्यु भएको र २ सय जनामा कोरोना पोजेटिभ पाइएपछि नेपालका सीमावर्ती जिल्लाका प्रशासनहरुले सहभागीको खोजी तीव्र बनाएका हुन्।
४ हजार मानिस सहभागी भएको उक्त धार्मिक सभामा ४० देशका मानिस थिए। नेपालबाट आधिकारिक रुपमा १९ जना सहभागी भएको बताइए पनि अनौपचारिक रुपमा गएकाहरु कति छन् भन्ने यकिन तथ्यांक छैन।
उक्त सभामा मलेसियाका २०, अफगानिस्तानका एक, म्यानमारका ३३, किर्गिस्तानका २८, इन्डोनेसियाका ७२, थाइल्याण्डका ७, श्रीलंकाका ३४, बंगलादेशका १९ र अन्य देशका नागरिक सहभागी भएको खुलेको छ।
उक्त कार्यक्रममा सहभागीमध्ये ६ मार्चसम्म दुई जनामा कोरोना पोजेटिभ देखिएको थियो । दुई जनाबाट सुरु भएको यो भाइरसको संक्रमण अहिले २०० जनामा पुगेपछि भारत र छिमेकी देशमा त्रास फैलिएको छ । उक्त सभामा नेपालबाट पनि १९ जना सहभागी भएका थिए । उनीहरुको खोजी प्रहरीले गरिरहेको छ। केहीलाई भने फेला पारेर क्वारेन्टाइनमा राखिएको छ।
उक्त भेलामा सहभागी नागरिकहरुलाई खोज गर्न भारतका राज्य सरकारले राज्य संयन्त्र नै परिचालन गरेर सार्वजनिक आह्वान गरिरहेको छ। दिल्ली प्रहरीले तबलीगी जमातका मौलानाविरुद्ध मुद्दा दायर गरेको छ।
उक्त धार्मिक सभामा भाग लिन गएकामध्ये रौतहटका १७ जनालाई दिल्लीस्थित नुरेला मुस्लिम ट्रस्टको क्वारेन्टाइनमा राखिएको जनाइएको छ। जसमा रौतहटको चन्द्रपुरका मोहम्मद महबुब दर्जी, करुनियाका शेख सेराजुल हक, जिंगडियाका महमद सेर अलि, विर्ताका शेख वहाव, शेख अनसार, शेख इसराइल र इब्राहिम छन्।
रौतहटको भुसहाका शेख जुवैर, तैयब खाँ पैठान, शेख अनसार, शेख इसराइल र जहुर आलम छन् भने प्रतापपुर पल्टुआका शेखर नुर महम्मद र खुर्सिद शेख, राजपुर–६ कुडियाटोलका मोहराम मिया, शेख बसिर, शेख सागिर आलम, शेख नेक महमद तथा राजपुर ७ अकोलवाका मोहम्मद सामि पनि दिल्लीको क्वारेन्टाइनमा छन्। त्यहाँ बाराको निजगढ र अन्यत्रका थप चार जना पनि छन्।
यसैबीच, दिल्लीको धार्मिक सभामा भाग लिएर फर्केको आशंकामा रौतहटका ११ जनालाई पर्सा प्रहरीले नियन्त्रणमा लिई वीरगंजस्थित सिद्धार्थ माविको क्वारेन्टिनमा राखिएको बुझिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।