राजविराज– भारतको दिल्लीस्थित निजामुद्दिन मस्जिदमा आयोजित धार्मिक सभामा सहभागीमध्ये कोरोना भाईरसका कारण ६ जनाको मृत्यु र ४० भन्दा बढीमा संक्रमण भेटिएपछि नेपालमा पनि त्रास सुरु भएको छ।
दिल्लीको धार्मिक सभामा सप्तरीसहित विभिन्न स्थानका १९ नेपालीसमेत सहभागी भएको चर्चाले नेपालमा पनि त्रास सुरु भएको हो। सहभागीहरु हालसम्म नेपाल फर्के÷नफर्केको विषय पुष्टि भएको छैन।
तर, स्थानीयवासीका अनुसार दिल्लीको उक्त धार्मिक सभामा सहभागी भएका कतिपय ब्यक्ति घर फर्किएका छन्। उनीहरु घरमै लुकेर बसेको स्थानीयको भनाइ छ। लुकेर बस्नेमा जनप्रतिनिधिदेखि सर्वसाधारणसमेत रहेको उनीहरुले बताए।
छिन्नमस्ता गाउँपालिकामा एक जनप्रतिनिधिसहित ४, राजविराज नगरपालिका १ का १, वडा नम्बर ६ का १, वडा नम्बर ३ का २ गरी करिव ८ जना उक्त कार्यक्रममा सहभागी भएर फर्केको स्थानीयको दाबी छ। जिल्लाका अन्य स्थानीयतहबाट समेत उक्त कार्यक्रममा सहभागी भएकाहरु घरमै बसिरहेकाले उनीहरुकै कारण जिल्लामा कोरोना फैलन सक्ने भन्दै सर्वसाधारण त्रासमा छन्।
सप्तरीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) सुनील खनालले भने दिल्लीको कार्यक्रममा सहभागी भएर फर्केकाहरु घरमै बसेको विषयलाई गम्भीरतापूर्वक लिएको र उनीहरुको खोजी भईरहेको बताए।
तर सोही कार्यक्रमअन्तर्गत विभिन्न स्थानमा भ्रमण गरेर फर्केका ९ जनालाई हाल वोदेवरसाईन–५, जाँजरस्थित क्वारेन्टाईनमा राखिएको छ। ९ मध्ये सुनसरीको भोक्राहाका १, सिरहाको रमौलाका १ र अन्य सप्तरीका छन्। एक जना राजविराज र अन्य वोदेवरसाईनकै वासिन्दा रहेको वोदेवरसाईन नगरपालिका ५ का वडाध्यक्ष मो. मजिवुर रहमानले बताए।
उनीहरुको प्राथमिक स्वास्थ्य जाँचका क्रममा कुनै समस्या नदेखिएको र तापक्रमसमेत सामान्य रहेको उनको भनाइ छ। उनीहरु दिल्लीको कार्यक्रममा नभई नेपाल तथा भारतका सीमा आसपासका क्षेत्रको भ्रमण गरेर फर्केको मजिवुरले जानकारी दिए ।
‘चार महिनाअघि गएकाहरु दिल्लीको कार्यक्रममा सहभागी भएका थिए’ उनले भने–‘क्वारेन्टाईनमा राखिएकाहरु ४० दिने कार्यक्रम (जमात) मा सहभागी भएका हुन्, उनीहरु दिल्ली गएनन् ।’
उक्त भेलामा नेपालबाहेक मलेसियाका २०, अफगानिस्तानका एक, म्यानमारका ३३, किर्गिस्तानका २८, इन्डोनेसियाका ७२, थाइल्याण्डका ७, श्रीलंकाका ३४, बंगलादेशका १९ र अन्य देशका तीन सयभन्दा बढी सहभागी रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।