काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसका कारण अमेरिकामा एकदेखि दुई लाखसम्मले ज्यान गुमाउने दाबी गरेका छन्। अमेरिकी कोरोना भाइरस सम्बन्धी उच्च स्तरीय टास्क फोर्सका सदस्यसँगको छलफलपछि आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले यस्तो जानकारी गराएका हुन्।
ट्रम्पले यो अनुमान एक प्रोजेक्सन मोडलको आधारमा तयार गर्दै सार्वजनिक गरिएकाले संख्या अझै बढ्न सक्ने बताए।
महामारी कहिले सकिन्छ भन्ने प्रश्नको उत्तरमा ट्रम्पले एक महिनाभित्र समाप्त हुने दाबी गरे।
अमेरिकी सरकारी संक्रामक बिरामी विशेषज्ञ डा एन्थोनी फाउचीले मानिसहरुले घर बाहिर जादाँ मास्क लगाउन र सामाजिक दूरी कायम गर्न अनिवार्य गर्न जरुरी भएको बताए।
यसभन्दा अघि अमेरिकाले आफ्ना नागरिकलाई अनिवार्य रुपमा मास्क लगाउन भनेको थिएन।
उनले अबको ३० दिनसम्म सामाजिक दूरी पालना गर्न सबैलाई आग्रह गरे। यदि यो नियम सबैले पालाना गरेमा संक्रमित बिरामीको संख्यामा कमी आउने उनको दाबी छ।
पत्रकार सम्मेलनमा ह्वाइट हाउसमा उपस्थित भाइरस सम्बन्धी उच्चस्तरीय समितिका संयोजक डा डेबोरा ब्रिक्सले राष्ट्रपति ट्रम्पको भनाइमा सर्मथन गर्दै अधिकतम दुई लाख मानिसले ज्यान गुमाउने खतरा रहेको बताए।
‘अहिले सबै नागरिकमा कोरोना भाइरसको संक्रमणको खतरालाई लिएर कौतुहलता रहेको छ। हुनु पनि स्वभाविक हो’, डा ब्रिक्सले भने, ‘हाम्रो अनुमान छ कि मानिसहरुको मृत्युको आँकडा यही दायराभित्र रहेने छ।
डा एन्थोनीले कोरोना भाइरस टास्क फोर्सले आउने तीन दिनभित्र यो महामारीलाई रोक्ने पूर्ण प्रयास गर्ने बताए।
‘तथ्यांक बढ्न सक्छ हामी यसका लागि तयार रहनुपर्छ’, डा एन्थोनीले भने, ‘हामीले यो स्वीकार गर्नु पर्छ कि हामी अहिले मुस्किल समयमबाट गुज्रिरहेका छौं।’
अमेरिकामा कोरोना भाइरसका कारण मर्ने मानिसको संख्या अहिले चीनभन्दा माथि पुगेको छ। संक्रमितको संख्या पनि दैनिक रुपमा वृद्धि भइरहेको छ। यही कुरालाई ख्याल राखेर सरकारले थप ३० दिनका लागि कोरोना भाइरसलाई फैलनबाट रोक्ने अभियान थप गरेको हो।
ट्रम्पले अबको दुई हप्ता अमेरिकाका लागि निकै कठिन समय भएको बताए। ‘देशको अगाडि अभूतपूर्व चुनौती रहेको छ। तपाईहरु देख्न सक्नुहुन्छ’, ट्रम्पले भने, ‘हामी घातक भाइरससँग आफ्नो पूरै तागतका साथ युद्ध लडिरहेका छौं।’
उनले यो युद्ध जित्नका लागि सबै एकसाथ लड्न जरुरी रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।