एजेन्सी- संक्रमण भएको छैन र संक्रमितको सम्पर्कमा जानुन नपर्ने स्थितिमा मास्क लगाउन आवश्यक नभएको विश्वस्वास्थय संगठनका अधिकारीले आग्रह गरेका छन्। सामूहिक रुपमा मास्क लगाउँदाको प्रत्यक्ष फाइदा नदेखिएको र प्रयोग गर्ने विधीअनुसार प्रयोग नगर्दा दुरुपयोग भइरहेको संगठनको हेल्थ इमर्जेन्सी कार्यक्रमका कार्यकारी निर्देशक माइक रायनले बताएको सिएनएनले लेखेको छ।
अहिले विश्वव्यापी रुपमै मास्क र अन्य मेडिकल सामाग्रीको अभाव रहेको र यसको नकारात्मक प्रभाव स्वास्थ्यकर्मीहरुमा परेको उनले बताए। 'स्वास्थ्यकर्मीहरु हरेक सेकेन्ड भाइरसको जोखिममा छन्, उनीहरुले नै मास्क नपाइरहेको डरलाग्दो अवस्था छ।'
संगठनका अधिकारीहरुले अहिले मास्कको अभाव रहेको अवस्थामा पहिला जसलाई आवश्यक छ उसैलाई प्रयोग गर्न उपलब्ध गराउनुपर्नेमा जोड दिएका छन्। यसको पहिलो आवश्यकता उपचारको अग्रभागमा रहने स्वास्थ्यकर्मीलाई रहेकाले उनीहरुलाई उपलब्ध गराउनुपर्नेमा जोड दिएका थिए।
सोमबारको नियिमत मिडिया ब्रिफिङमा बोल्दै सरुवा रोगसम्बन्धी जानकार डा मारिया भान केरकोभले भनिन्‚ 'संक्रमित भएको अवस्थामा मास्कको प्रयोग गरेर अरुमा फैलनबाट रोकौं। तर बिरामी नभएसम्म मास्कको प्रयोग गर्न सिफारिस नगरौं।'
गत साता संगठनले कोरोना भाइरस संक्रमणको जोखिमको पहिलो पङ्तिमा रहेकाहरुले नै व्यक्तिगत सुरक्षा सामाग्रीहरु नपाएको र यसको विश्वव्यापी अभाव रहेको भन्दै यस्ता सामाग्रीको प्रयोगमा पहिलो प्राथमिकता स्वास्थ्यकर्मीलाई दिन आग्रह गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।