नयाँ दिल्ली- भारतमा कोरोना भाइरस संक्रमित एक दम्पति निकाे भएका छन्। ९३ वर्षका थाेमस र ८८ वर्षकी उनकी पत्नी मरियम्मा निकाे भएका हुन्।
कोरोना भाइरसको संक्रमणपछि उनीहरुलाई अस्पतालमा भर्ना गरिएकाे थियाे। अस्पतालमा उपचारपछि उनीहरु निकाे भएकाे बिबिसी हिन्दीले उल्लेख गरेको छ। उनीहरुमा कोरोना भाइरसका साथै अन्य रोग पनि थियो। उनीहरुलाई सुगर र प्रेसर पनि थियो।
अस्पतालमा थोमसलाई हृदयघातसमेत भएको थियो। विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस उमेर ढल्केका र विभिन्न रोग रहेका मानिसका लागि धेरै खतरा हुने चेतावनी दिँदै आएको छ। थोमसका छोरा, बुहारी, नाती र अन्य दुई नातेदारमा पनि कोरोना पोजेटिभ पाइएको थियो। उनीहरु सबैको परीक्षण रिपाेर्ट नेगेटिभ देखिएपछि अस्पतालले घर पठाइदिएको छ।
थोमसका छोराको परिवार फेब्रुअरी २९ मा इटालीबाट आएको थियो। उनीहरुबाट परिवार र नातेदारमा कोरोना फैलिएको हाे।
कोरोना हेल्प लाइनमा खाना माग्दै फोन
झारखण्ड सरकारले स्थापना गरेको कोरोना भाइरससम्बन्धी जानकारी हेल्प लाइनमा मानिसहरुले खान नपाएकाे भन्दै खाद्यान्न माग गर्दै फोन गर्न थालेका छन्।
याे हेल्प लाइनमा आउने अधिकांश फोन मजदुरहरुको रहेको र उनीहरुले कोरोनासँग जोडिएको विवरणभन्दा लकडाउनका कारण खाद्यान्न नपाएको गुनासो धेरै गरेका छन्। एक हजार जति फोन आएको उक्त हेल्प लाइनमा सुरुका दिनमा भाइरससम्बन्धी सूचना सोधिए पनि अहिले खाद्यान्न कहाँ पाइन्छ र कसले वितरण गर्छ जस्ता विषय साेधिने गरिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।