मेलम्ची- सिन्धुपाल्चोकमा गएराति बोलेरो र बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ।
जिल्लाको मेलम्ची नगरपालिका–९ ज्यामिरे पिपलटारको झिल्के मोड भन्ने स्थानमा बोलेरो गाडी दुर्घटना हुँदा चालकसहित ३ जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय मेलम्चीले जानकारी दिएको छ। आइतबार बेलुका ८ बजे मेलम्चीबाट सिमेन्ट लिएर रातमाटे जाँदै गरेको बा१८च ४६९९ नंको बोलेरो गाडी सडकबाट करिब ३ सय मिटर तल खोलामा खसेको थियो।
३५ वर्षीय चालक मेलम्ची नगरपालिका–९ ज्यामिरेका सुरेश तामाङ, ज्यामिरेकै ४२ वर्षीय मोती अधिकारी र १२ वर्षीय बालक कमल स्याङ्बोको घटनास्थलमा नै मृत्यु भएको मेलम्चीका प्रहरी नायब निरीक्षक श्रीराम केसीले बताए। बढी लोड बोकेका कारण मोडमा ब्रेक नलागेर गाडी दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ।
त्यस्तै, हेलम्बु गाउँपालिका–१ तिम्बुमा बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। काठमाडौँबाट हेलम्बुको तिम्बुका लागि छुटेको बा२ख ६३६५ नंको हेलम्बु यातायातको बस गएराति १० बजेतिर तिम्बु बसपार्क नजिकै दुर्घटना भएको हो।
दुर्घटनामा बसका सहचालक इन्द्रावती गाउँपालिका–३ बाँडेगाउँका महेन्द्र भुजेलको मृत्यु भएको छ भने चालक फरार रहेको प्रहरीले जनाकारी दिएको छ। बसमा सवार अन्य ४ जना घाइतेको उपचारका लागि आइतबार राति नै धुलिखेल अस्पताल लगिएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।