काठमाडौँ- पानी, वातावरण र जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ।
जनस्वास्थ्यको क्षेत्रमा कार्यरत इञ्जिनियरको संस्था सोफेनको अग्रसरतामा नेपाल इञ्जिनियर्स एसोसिएसन र खानेपानी तथा ढल निकास विभागको संयुक्त आयोजनामा चैत २७ देखि २९ गतेसम्म काठमाडौँमा अन्तर्राष्ट्रिय सम्मेलन हुन लागेको हो।
सोफेनका अध्यक्ष रामदीप साहले बढ्दो जनसंख्याका कारण भइरहेको वन विनास र औद्योगीकरणको प्रभावले वायुमण्डलमा थपिँदै गएको कार्बन मनोअक्साइड, कार्बन डाईअक्साइड र हरितगृह ग्यासको प्रभावले पृथ्वीको वायुमण्डलभित्रको तापक्रम बढेको बेला सम्मेलन गर्न लागिएको बताए। 'विश्वव्यापी तापक्रम वृद्धिले जलवायुमा परिवर्तनबाट हिमाली क्षेत्रमा हिउँ पग्लने दर बढेको छ,' उनले भने।
अध्यक्ष साहले संसारमा धेरै कुराको विकल्प देखिएको तर पानीको विकल्प नभएको स्पष्ट पारे। स्वच्छ पानीको स्रोतलाई जोगाउने, पानीलाई मानव समाजको समुन्नतिमा उपयोग गर्ने, पानीका माध्यमबाट वातावरण संरक्षणमा योगदान पुर्याउन उद्देश्य राखेर सम्मेलन आयोजना गरिएको उनले बताए।
सम्मेलनमा २० देशका खानेपानी, वातावरण र जलवायु परिवर्तनको क्षेत्रमा कार्यरत ५ सय विज्ञ, अनुसन्धानकर्ता, प्राज्ञ, व्यवसायी र सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिको सहभागिता रहने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।