वासिंटन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक लाखसम्ममा रोक्न सके‚ त्यो नै राम्रो हुने बताएका छन्।
सोमबार ह्वाइटहाउसमा आयोजित एक कार्यक्रममा बोल्दै राष्ट्रपति ट्रम्पले यस्तो बताएका हुन्। 'मेरो प्रशासनले कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक लाखमा रोक्न सके यो धेरै राम्रो काम हुनेछ,' उनले भने।
अमेरिकामा अप्रिल ३० सम्म लकडाउनको अवधि बढाइएको पनि उनले बताए। आइतबार मात्र उनले न्यूयोर्कमा लकडाउन आवश्यक नभएको भन्दै धारणा सार्वजनिक गरेका थिए। हाल कोरोना भाइरसबाट सबैभन्दा संक्रमित अमेरिकामा छन्।
पछिल्लो समय अमेरिकी राष्ट्रपति ट्रम्पका बयान फेरिइरहेका छन्। पछिल्लो समय राष्ट्रपति ट्रम्पको बयान जसरी फेरिएको छ‚ त्यसलाई आधार मानेर हेर्दा स्थिति एकदम नाजुक भएको विश्लेषण विभिन्न विज्ञहरूले बताइरहेका छन्।
यसरी फेरिँदै आएको छ ट्रम्पको बयान:
जनवरी ३०- कोरोना भाइरसको संक्रमण हाम्रो नियन्त्रणमा छ। अहिलेको समयमा अमेरिकामा यो समस्या धेरै नै सानो हो। अहिलेसम्ममा ५ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको छ।
फेब्रुअरी १०- यस्तो लाग्दैछ कि अप्रिलसम्ममा‚ जब गर्मी मौसम सुरू हुन्छ‚ त्यसपछि यसको संक्रमण चामत्कारिक क्रमशः हराएर जानेछ।
फेब्रुअरी २७ : भाइरस‚ एकदिन जादू भएझैं गरी स्वतः हराएर जानेछ।
मार्च १७ : जब कोरोना भाइरसलाई महामारीको घोषणा गरियो‚ त्योभन्दा धेरै पहिलादेखि नै यसले महामारीको रूप लिइसकेको थियो।
मार्च २५ : हामी छिट्टै नै सहर‚ बजारदेखि सबै खोल्ने तयारी गरिरहेका छौं। म इस्टरमा जानका लागि उत्सुक पनि छु।
मार्च ३० : अमेरिकामा यदि हामी मृत्युदरलाई जतिसक्दो कम गर्न सक्छौं‚ त्यति नै हाम्रो लागि राम्रो हुनेछ। र मृत्यु हुनेको संख्या १ लाखसम्ममा रोक्यौं भने‚ यो नै धेरै राम्रो काम हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।