काठमाडौं- बागमती प्रदेशको मन्त्रीपरिषद बैठकले कोरोना भाइरस संक्रमण, नियन्त्रण तथा उपचार सहयोग कार्यविधी २०७६ स्वीकृत गरेको छ। प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलको अध्यक्षतामा बसेको बैठकले कार्यविधी पारित गरेसँगै स्थानीय विपद व्यवस्थापन समितिलाई सहयोग गर्ने बाटो खुलेको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले जानकारी दिए।
आईतबार नै बसेको विपद व्यवस्थापन निर्देशक समितिको बैठकले स्थानीय तथा जिल्लागत रुपमा बनेका विपद व्यवस्थापन समितिलाई सहयोग रकम उपलब्ध गराउने निर्णय समेत गरेको छ। समितिका अध्यक्ष मुख्यमन्त्री डोरमणी पौडेलको अध्यक्षतामा बसेको बैठकले महानगरको समितिलाई २० लाख, उपमहानगरलाई १५ लाख, नगरलाई १२ लाख र गाउँपालिकालाई १० लाख रुपैयाँ दिने निर्णय गरेको छ।
जिल्ला समन्वय समितिमा बनेको समितिलाई ५ लाख दिने निर्णय गरेको छ। सो रकम कोरोना सङ्क्रमण रोकथाम एवं उपचार, आइसोलेसन तथा क्वारेन्टाइन निर्माण, मेडिकल सामग्री खरिद, विपन्न परिवारलाई राहतका लागि प्रयोग गर्न सक्ने आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेलले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।