एजेन्सी- मार्च १२‚ जुन दिनदेखि मलाई ज्वरो आउन थाल्यो। निको हुने आशले केही दिन घरमै पर्खिरहें। अर्को हप्तामा मेरो ज्वरो बढेर १०१‚ १०२ डिग्री पुग्न थाल्यो। अङ्ग अङ्ग दुख्न थाले।
कार्यालय पहिलेदेखि नै घरबाट नै सञ्चालन गरिएको थियो‚ त्यसैले मैले सकेसम्म यसलाई घरमै बसेर निको पार्नेतिर सोचें। त्यसैबीच मैले इन्टरनेटमा एक डाक्टरको भिडियो देखें‚ जसले यस्तो किसिमको लक्षण फ्लू पनि हुनसक्ने र कोरोनाकै लक्षण पनि हुनसक्ने भनी बताए।
मलाई कता कता डरसँगै चिन्ता लाग्न थाल्यो‚ न कोरोना भाइरस नै पो हो कि? तर‚ मलाई श्वासप्रश्वासमा कुनै किसिमको समस्या थिएन। म अहिले ४५ वर्षको भएँ‚ धुम्रपान गर्दिनँ त्यो विषय मेरा लागि एउटा चित्त बुझाउने कारण बनेको थियो। सबै लक्षणहरूलाई हेर्दा मलाई कोभिड-१९ लागेको जस्तो लाग्दैन थियो।
त्यसको करीब एक हप्तापछि मलाई खोकीले च्याप्न थाल्यो। लामो सास लिँदा यस्तो लाग्थ्यो कि फोक्सोले आफ्नो ठाउँ छाडिसक्यो। त्यसपछि मैले सानैदेखि देखाउने गरेको एक डाक्टरसँग भिडियोमा गफ गरें र सबै लक्षणहरू बताएँ। उनले पनि सायद निमोनिया भएको हुनसक्ने भन्दै एन्टिबायोटिक औषधी खाने सल्लाह दिए।
मैले कोरोना परीक्षण गर्ने भनी आवेदन भर्ने निधो गरें। करीब ८० मिनेटपछि कसैले मेरो बारेमा विभिन्न जानकारी लियो र ‘केही समयपछि तपाईंलाई खवर गर्नेछौं’ भनेर बिदा भयो। तर कसैले पनि खवर गरेनन्।
८ दिनपछि फेरि मलाई ज्वरो देखिन थाल्यो। म केही कदम चल्न पनि नसक्ने स्थितिमा पुगें। मेरी श्रीमतीले मलाई नजिकैको अर्जेन्ट केयर क्लिनिकमा लिएर गइन्‚ जहाँ मेरो छातीको एक्स-रे गरियो जसबाट मलाई निमोनिया भएको प्रमाणित भयो। उनीहरूले कोरोना भाइरसको आशंकामा मेरो स्वाब परीक्षण गरे।
तर ल्याबमा अरु पनि कयौं परीक्षणहरू बाँकी भएकाले मेरो रिपोर्ट कहिले आउँछ भन्नेबारे उनीहरू नै अनभिज्ञ देखिन्थे। अहिलेसम्म पनि उनीहरुले रिपोर्ट आयो भनेर मलाई खवरसम्म पनि गरेका छैनन्।
म निराश हुँदै फेरि घर फर्किएँ। छाती फुट्लाजस्तो भएको थियो‚ सिरकभित्र गुट्मुट्टिनेभन्दा अर्को कुनै विकल्प थिएन। मैले सुरुमा देखाएको डाक्टरले मलाई ‘इआर’ (आपतकालीन कक्ष) मा लैजानका लागि मेरी श्रीमतीलाई सल्लाह दिए। हामी त्यहाँ गयौं।
त्यहाँ उनीहरूले मेरो कोरोना भाइरसको परीक्षण र अर्को छातीको एक्स-रे गराए। त्यहाँ गरिएको रगत परीक्षणबाट मेरो शरीरमा प्राप्त अक्सिजन र सेता रक्तकोषिकाको मात्रा सामान्य देखियो। निको हुनुको सट्टा स्थिति खराव हुँदै गएमा फेरि अस्पतालमा खवर गर्नू भन्दै उनीहरूले त्यहाँबाट पनि मलाई बिदा दिए।
अर्को दिन मेरो शरीरको तापमान बढेर १०३.५ डिग्रीमा पुग्यो। हामीले फेरि इआरमा फोन लगायौं र उनीहरूले फेरि अस्पताल आउन आग्रह गरे। त्यो रात म न्यूयोर्कस्थित राइनबेको नर्थन डचेज अस्पतालमा भर्ना भएँ।
भर्ना भएको पहिलो रात र दिन मलाई ज्वरोले अत्यन्तै पीडा दिइरहेको थियो। पसिनाले पनि उत्तिकै मात्रामा शरीर निथ्रुक्क भिजाइरहेको थियो। म चेत अवस्थामा छु कि अचेत अवस्थामा केही निर्क्योल नै गर्न छाडिसकेको थिएँ।
नर्सहरूले मेरो शरीरबाट रगत झिके र केही औषधी सुईको माध्यमबाट दिइरहे‚ यो मेरो दैनिकीजस्तै बनिसकेको थियो। फेरि एकदिन मेरो छातीको एक्स-रे गरियो।
त्यसको भोलीपल्ट मैले केही राहत महशुस त गरें तर पनि केही डर र चिन्ता भने मनमा अझै थियो। त्यहीबेला एक साथीजस्तै व्यवहार गर्ने डाक्टर म सुतिरहेको वार्डमा आए र मलाई कोरोना पोजेटिभ भएको र पछिल्लो पटक लिएको एक्स-रे पनि राम्रो नभएको बताए। उनले मलाई पछिल्लो एक्स-रेको फाइल देखाए।
प्रत्येक फोक्सोमा एउटा धमिलो बाटोजस्तो देखिएको थियो बाँकी भाग सबै स्पष्टजस्तै थियो। उनले मलाई फेरि अर्को नयाँ एक्स-रे देखाए। त्यो हेर्दा यस्तो लाग्थ्यो कि कसैले फोक्सोमा केही छर्किएको छ जसले गर्दा फोक्सो सामान्यभन्दा भिन्न देखिएको छ। पृथक देखिएको छ।
मेरा लागि यो एउटा कठिन अग्नी परीक्षाजस्तै थियो। म घरबाट हिँड्नेबेलामा मैले मी ९ वर्षकी छोरीसँग अङ्गालो मारेर आएको थिएँ। अब मलाई त्यो कुराले झन् पिरोल्न थाल्यो। म अब उनलाई त्यसैगरी फेरि कहिले अङ्गालो हाल्न सकूँला?
डाक्टरले सोहीबेला इन्टेन्सिभ केयर युनिट भएको ठाउँमा जानुपर्ने बताए। म उदास भएर सुतिरहन्थें‚ त्यहीबेला मैले टिभी खोलें‚ टिभीमा सिएनएन आइरहेको थियो। टिभीमा राष्ट्रपति ट्रम्प कसैलाई केही बताइरहेका थिए।
केही हप्ताअघि म आफैंले ट्रम्प र सामाजिक दूरीको विषयलाई लिएर मजाक उडाइरहेको थिएँ। तर यो अवस्थाले मलाई फेरि मजाकको अवस्थामा छाडेको छैन। कोरोना संक्रमण भएको पुष्टि भएको १४ दिनपछि राइनबेकस्थित अस्पतालबाट म यो लेखिरहेछु।
यो परिस्थितिलाई व्याख्या गर्न कुनै शब्द छैन। यो शारीरिक दुखाई‚ के हुने हो भन्ने चिन्ता र त्रासले हरेक क्षण मलाई बिथोलिरहेको छ। म मेरो यो परिस्थितिभन्दा ज्यादा मेरी श्रीमती र छोरीलाई हरेक पल सम्झरहेको छु।
मलाई आफ्नो ज्यानको परवाह नराखी हर क्षण मेरा निम्ति खटिने डाक्टर‚ नर्स‚ मेडिकल स्टाफहरुलाई हृदयतः धन्यवाद भन्न चाहन्छु। साँच्चै नै यो एउटा कहालीलाग्दो क्षण हो।
राष्ट्रपतिले यस्तो महामारीलाई पनि हेल्चेक्र्याईंको रुपमा हेरिरहेका छन्‚जसले गर्दा कयौं नागरिकलाई अझ कठिन परिस्थितिको सामना गर्नुपरिरहेको छ।
भाइरसले राजनीतिक एजेन्डका विषयमा केही जान्दैन। जति बढी यसलाई खेलाँचीका रुपमा लियो त्यति नै बढी संक्रमितहरू देखिन्छन्। अहिले मलाई हेरचाह गरिरहेका मेडिकल स्टाफहरूले अब छिट्टै नै मजस्ता कयौं संक्रमितको उपचार गर्नुपर्नेछ‚ जुन उनीहरूको सामर्थ्य बाहिरको कुरा हुनेछ।
मेरा लागि‚ औषधीले काम गरिरहेकाले बिस्तारै सबै कुरा परिवर्तन हुँदैछन्। हिजोको छातीको एक्स-रेमा पनि सुधार देखिएको छ। क्रमिक रुपमा हिजोभन्दा आज र आजभन्दा भोली सुधारको अनुभव पनि गरिरहेको छु।
मलाई अहिले‚ मेरी श्रीमतीसँग फेरि मिल्न पाउनेछु र अङ्कमाल गर्न पाउनेछु भन्ने आश पलाएको छ। मलाई अहिले‚ मेरी छोरीसँग फेरि मिल्न पाउनेछु र अङ्गालो मार्न पाउनेछु भन्ने आश जागेको छ।
मैले मेरो ख्याल राख्ने स्टाफहरू पाएर आफूले आफूलाई भाग्यमानी महशुस गरेको छु‚ जसले मलाई खुवाए‚ बसाए‚ मलाई नुवाइदिए‚ आराम गर्न दिए‚ आराम गर्न दिए‚ ढाडस दिए र यत्तिको अवस्थासम्म ल्याइपुर्याए।
हाम्रा लागि आफ्नो परिवार पनि नभनी देश र विश्वका लागि बिनास्वार्थ लागिपरिरहेका यस्ता स्वास्थ्यकर्मीका लागि हामीले केही पनि गर्न सकिरहेका छैनौं। उनीहरूले हाम्रो जीवन बँचाइराखेका छन्। उनीहरूकै कारणले म बाँचेको छु।
हामीले उनीहरूको बारेमा नसोचे कसले सोचिदिने? उनीहरूले हाम्रो जीवनमा खुसी थपेका छन् भने हामी किन उनीहरुको जीवनमा खुसी नथप्ने?
व्यक्तिगत रुपमा सहयोग गरेर हुन्छ अथवा जसरी हुन्छ उनीहरूको उचित मूल्याङ्कन हुनुपर्छ। हामीले फेरि मेडिकल सेवा सबैको पहूँचमा पुर्याउनका लागि अमेरिकी उद्योगलाई अझ दृढ बनाउनुपर्छ।
यो राष्ट्रियस्तरकै स्वास्थ्य आपतकाल हो‚ त्यसैले यसलाई हामीले यो जत्तिको गम्भीर छ‚ त्यस्तै रुपमा यसलाई लिएनौं भने यसले धेरै नै नकारात्मक असरहरू छाडेर जानसक्ने पनि हुनसक्छ। हामीले अस्पतालका कर्मचारी‚ डाक्टरहरूले के भन्छन् त्यसको विषयमा पनि सोच्नुपर्छ।
उनीहरूको आवश्यकता र अहिलेको अवस्थामा चालिनुपर्ने कदमका बारेमा सुन्नुपर्ने हुन्छ। हामी आफैंलाई बचाउनका लागि उनीहरूका लागि आफूले सक्दो पहल गर्न जरुरी हुन्छ।
न्यूयोर्क टाइम्सबाट
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।