रसुवा– रसुवामा रहेका ८३ वटा सहकारी संस्था स्थानीय तहलाई हस्तान्तरण गरिएको छ।
आइतबार सदरमुकाम धुन्चेमा सहकारी संस्थाको अभिलेख हस्तान्तरण तथा स्थानीय तहका पदाधिकारी र अधिकृतहरुको अनुशिक्षण कार्यक्रम आयोजना गरी जिल्लामा रहेका ८३ वटा सहकारी स्थानीय तहलाई हस्तान्तरण गरिएको हो।
जिल्लाको पाँच वटा गाउँपालिकामा रहेका एक सय १४ वटा सहकारीमध्ये गाउँपालिकामा मात्रै कार्यक्षेत्र बनाएका ८३ वटा सहकारी संस्था स्थानीय तहलाई हस्तान्तरण गरिएको सहकारी डिभिजन कार्यालय नुवाकोटका प्रमुख डिभिजन प्रमुख शंकरराज पाठकले बताए।
उनले भने, ‘हामीले गाउँपालिकामा मात्रै कार्यक्षेत्र बनाएका सहकारी संस्थाहरु जिल्लाको पाँच वटै गाउँपालिकाका प्रमुखहरुलाई हस्तान्तरण गरेका हौं।’
कुन गाउँपालिकामा कति सहकारी
गोसाइँकुण्ड गाउँपालिकामा रहेका ३३ वटा सहकारी सस्था मध्ये २८ वटा गाउँपालिकालाई हस्तान्तरण गरिएको बताइएको छ। त्यस्तै, कालिका गाउँपालिकाका २४ वटा सहकारी संस्थामध्ये १६ वटा, आमाछोदिङ्मो गाउँपालिकामा रहेका २२ वटा सहकारी संस्थामध्ये १३ वटा, उत्तरगया गाउँपालिकाका १९ वटा सहकारीमध्ये १४ वटा र नौकुण्ड गाउँपालिकामा रहेका १६ वटा सहकारीमध्ये १२ वटा सहकारी सस्था सम्बन्धित गाउँपालिकालाई हस्तान्तरण गरिएको सहकारी डिभिजन कार्यालय नुवाकोटले जनाएको छ।
त्यस्तै, गाउँपालिकाभन्दा बाहिर समेत कार्यक्षेत्र बनाएका ३१ वटा सहकारी प्रदेश रजिष्टारको कार्यालयलाई हस्तान्तरण हुने नुवाकोटका प्रमुख डिभिजन प्रमुख शंकरराज पाठकले बताए। त्यस्तै, गोसाइँकुण्ड गाउँपालिकामा रहेको ५ वटा, कालिका गाउँपालिकामा रहेको ८ वटा, आमाछोदिङ्मो गाउँपालिकामा रहेको ९ वटा, उत्तरगया गाउँपालिकामा रहेको ५ वटा र नौकुण्ड गाउँपालिकामा रहेको ४ वटा सहकारी प्रदेशमा हस्तान्तरण हुने डिभिजन प्रमुख पाठकले बताए।
स्थानीय तह सञ्चालन ऐन कार्यान्वयन भएको ६ महिनाभित्र सहकारी हस्तान्तरण गरिसक्नुपर्ने प्रावधान छ। यही ऐन अनुसार रसुवामा रहेका ८३ वटा सहकारी स्थानीय तहलाई हस्तान्तरण गरिएको हो। ३१ वटा सहकारी छिटै प्रदेश सरकारलाई हस्तान्तण तयारी भइरहेको डिभिजन प्रमुख पाठकले बताए।
संविधानले सहकारीको अधिकार केन्द्रदेखि स्थानीय तहसम्म राखेको छ। जस अन्तर्गत एउटा स्थानीय तह मात्र कार्यक्षेत्र भएको सहकारी स्थानीय तहमै रहने, एकभन्दा बढी स्थानीय तह कार्यक्षेत्र भएको सहकारी प्रदेश सरकार मातहत र एकभन्दा बढी प्रदेश कार्यक्षेत्र भएका सहकारी केन्द्र सरकारको मातहतमा रहनेछन्। रसुवामा १ सय १४ सहकारी रहेका छन्। यस्तै, स्थानीय तहलाई सहकारी संस्था हस्तान्तरण गरेसँगै अब सहकारी ऐन स्थानीय तहले नै निर्माण गर्नुपर्ने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।