कोरोना भाइरसको संक्रमण फैलन सक्ने जोखिम भएको भन्दै सरकारले लकडाउन गरेको छ। यसबीचमा नेपाल भारत र चीनका सीमा पूर्ण रूपमा बन्द भएका छन्। हवाई सेवा अवरुद्ध भएको छ। सरकारले लकडाउनको पूर्ण पालन गराउँदा कतिपय कठिनाइ पनि आएका छन्। चीनबाट ल्याउने भनिएको मेडिकल सामग्रीसमेत नेपाल आउन नसक्ने भएपछि सरकारले चीनतर्फका नाका खुलाउने निर्णय पनि गरेको छ। तर यी नाकाबाट मानिसको आवतजावत बन्द गरिने र सामग्रीको आयात भने खुला गर्ने तयारी छ।
कोरोना भाइसर रोगको जोखिम न्यूनीकरणका लागि सरकारले उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेको नेतृत्वमा कोरोना भाइरस रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति गठन गरेको छ। सो समितिमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट समेत सदस्य छन्। सरकारले कोरोना महामारीलाई कसरी लिएको छ? नियन्त्रण गर्न कस्ता कदम चालेको छ? नेपालमा भएको सञ्चित अत्यावश्यक वस्तुको अवस्थालगायतका विषयमा केकस्ता प्रयास भएका छन् भन्ने विषयमा नेपाल लाइभका वीरेन्द्र ओलीले मन्त्री लेखराज भट्टसँग गरेको कुराकानीको सम्पादित अंश
हामी अहिले एउटा ठूलो राष्ट्रिय संकटमा छौं। सरकारले कोरोना भाइरस नियन्त्रण सम्बन्धी उच्चस्तरीय समिति बनाएर काम गरिरहेको छ। तपाईं त्यस समितिको सदस्यको रुपमा हुनुहुन्छ। त्यो समितिले कसरी काम गरिरहेको छ?
विश्वभर कोरोना भाइरसको संक्रमण भइसकेपछि प्रधानमन्त्रीले समीक्षा गर्नुभयो। उच्चस्तरीय समिति बनाउनुभयो। त्यो समितिले भोलि के-के समस्याहरु आउन सक्छन्? तयारीहरु कसरी गर्ने? संक्रमित मुलुकहरुले जुन मोडलबाट त्यो समस्यालाई समाधान गरे, त्यसलाई सुक्ष्म अध्ययन र समीक्षा गर्दै एकपछि अर्को योजनाहरु बनायौं। त्यसलाई कार्यन्वयनमा ल्याउने काम पनि गरियो।
अहिले बाहिरबाट आउने मान्छेलाई निगरानीमा राख्ने, आवश्यकता अनुसार क्वारेन्टाइनमा राख्ने वा आइसोलेसनमा लग्ने भन्ने छ। यति गर्दा पनि केही संक्रमितहरु भेटिएका छन्। उपचार पनि भइरहेको छ।
यसको मुख्य इलाज भनेको हरेक जनता घरमै बस्ने नै हो। चिकित्सक दिएको सुझावको पालना गर्ने हो। दैनिक उपभोग्य सामाग्री खरिद गर्दा निश्चित समय र दूरी बनाएर पालना गर्ने हो। भौतिक रुपमा नजिक नआउने नै यस रोगको मुख्य इलाज हो।
उपचारमा चाहिने सामाग्रीहरु पनि जुटाउनेदेखि लिएर सम्बन्धित क्षेत्रमा पुर्याउने कुरा नै स्तरीय समितिले कामगरी रहेको छ। यस्ता कामहरु क्रमिक रुपमा गर्दै जाने हो।
सरकारले हप्ता दिनसम्म देशै लकडाउने गर्ने निर्णय गरेको छ। उता भारतले पनि २१ दिनसम्म लकडाउने गर्ने निर्णय गरेको छ। नेपालमा लकडाउन बढ्ने स्थिति छ कि छैन?
मैले अघि पनि भने नि- यसको औषधि लकडाउन नै हो। चीनमा जब संक्रमण फैलियो। सुरुदेखि लकडाउन गरियो। चीनपछि हङकङ, सिंगापुर, ताईवान, भेयतनाम लगायत मुलुकहरुले पूरै लकडाउन गर्यो। ती देशले एक अर्कोसँगको सम्पर्कमा आउन दिएनन्। ती मुलुकहरुमा कारोनाको संक्रमण रोकियो। जुन मुलुकले त्यो लकडाउनलाई पालना गरेनन्, त्यहाँ भयाभह रुपमा फैलियो।
अहिले स्थानीय तहले सडक कलकारखानाहरु औषधि राखेर सफा गर्ने काम गरिरहेका छन्। विशेषगरी काठमाडौं महानगरपालिकाले हिजोदेखि गर्दै आएको छ। सबैले यस्ता नियमहरु पालना गर्दै अघि बढ्नु पर्छ। आफ्नो तर्फबाट पनि सर्तकर्ता अपनाउनुपर्छ। संक्रमणलाई जहाँ जति व्यक्ति वा ठाउँमा छ, त्यतिमै सीमित गर्ने हो।
विदेशबाट आएकालाई शंका लागेको छ भने आफैं अस्पताल गएर चेक जाँच गराउने, आफैंले बुझेर क्वारेन्टाइन वा आइसोलेसनमा जानुपर्छ। केही हाम्रो चेतनाको कमीले पनि होला, बिहानै मेरै निर्वाचन क्षेत्रमा प्रहरी प्रशासनको निगरानी पुगेन, मान्छेहरु गाउँगाउँ छिरेर घरतिर गइरहेका छन् भन्दै थिए। हिजो जोगबुढा क्षेत्रमा घर-घरमा पुगेर हेरियो। डाटीमा मान्छेलाई क्वारेन्टाइनमा राख्नका लागि लाठी चार्ज नै गर्नु पर्यो ।
देश लकडाउनमा गएपछि नागरिकहरु घरभित्रै सीमित छन्। दैनिक उपभोग्य सामाग्रीको माग बढ्दै गएको छ। जस्तै पानी, दूध, दाल, चामल, तरकारी, फलफूल लगायतको व्यवस्थाको स्थिति कस्तो छ?
सुरुवातमा आंतक जस्तो भयो। भोलि केही पाइँदैन भन्ने जस्तो बजारमा भयो। दैनिक उपभोग्य सामाग्री खरिद गर्न यति धेरै भिड लाग्यो कि आफूलाई चाहिनेभन्दा धेरै सामाग्री खरिद गरेर स्टकमा राखियो। हामीले आम मिडिया मार्फत प्रयाप्त मात्रामा स्टक रहेको विश्वास दिलायौं। भोलि अभाव हुन्छ कि भनेर आत्तिनुपर्दैन। सरकारले समस्याको हल दिन्छ भनेर ‘कन्भिन्स’ गर्यौं। त्यसपछि क्रमशः रोकिदै गयो।
अहिले खाद्यान्नको ठूलो डिमान्ड छैन हामीसँग ५/६ महिनाका लागि पुग्ने खाद्यान्न छ। जहाँबाट खाद्यान्न आयात गर्ने हो, त्यहाँबाट आउने क्रम जारी छ। हामीले त्यो खालको व्यवस्था गरेका छौं। कतिपय हाम्रै संस्थाहरु छन्। नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेसँग २५ हजार मेट्रिक टनभन्दा धेरै चामल स्टक छ। त्यस्तै, धान २० हजार मेट्रिक टन स्टक छ। अरु खरिद गर्न पनि लगाइएको छ। पेट्रोलियम पदार्थ र ग्यास आयात भइरहेकै छ।
यदि तत्काल कुनै समस्या आयो भने कसरी अघि बढ्ने भनेर उच्चस्तरीय समितिमा पनि छलफल भयो। लकडाउनका कारण उद्योग कलकारखानाहरु बन्द छन्। उत्पादित विद्युत धेरै हुन थालेको छ। अर्को विकल्पको रुपमा इन्डक्सन चुलोको प्रयोगलाई बढाउने र आयातलाई सहज बनाउने भन्ने छ। जहाँ विद्युत छ, त्यहाँ हरेक नागरिकले कसरी समस्यासँग जुध्ने भन्ने कुरालाई पनि आत्मसात गर्दै इन्डक्सन चुलोतिर प्रेरित गरिहरेका छौंश्र हामीसँग भएको इन्डक्सन चुलोहरु पनि बिक्री भइरहेको छ।
हामीले विभिन्न व्यवसायी र उद्योगीहरुका संघसस्था र नेतृत्वसँग सुरुदेखि नै छलफल गरिरहेका छौं। व्यवसायीहरुले राष्ट्रलाई संकट परेको बेला पूर्ण सहयोग गरिरहेका छन्। आवश्यक वस्तु कहाँबाट कसरी लिन सकिन्छ, त्यसको लागि उनीहरुको प्रयास पर्याप्त छ भन्ने लागेको छ। अहिले लकडाउन भएर कोठामा बस्नुपर्ने स्थितिमा पनि फोन नम्बरबाट जानकारी दिनुस् भनेका छौं। व्यवसायीले फोनबाट आम उपभोक्तालाई आवश्यक सामाग्री पुर्याई राखेका छन्।
अर्को दूध तथा फलफूल तरकारी पानी खरिदका लागि निश्चित समय निर्धारण गरिएको छ। त्यो निर्धारित समयमा दिने भनेका छौं। खरिद गर्दा एउटा निश्चित दूरी कायम गर्ने भनेका छौं। त्यो छिमेकी देश भारतमा पनि गरीरहेका छन्। त्यहाँ भिडभाड नहुने क्षेत्रमा दैनिक उपभोग्य सामाग्रीको निश्चित दूरी कायम गरेर उपलब्ध गराएको छ। त्यहाँको मिडियाले नै यति धेरै जनतालाई प्रशिक्षित गरिरहेका छन्।
लकडाउन चैत महिनाभर नै हुने अवस्था आयो भने हामीलाई थेग्ने दैनिक उपभोग्य सामानको मौज्दात होला?
त्यसमा कुनै शंका गर्नै पर्दैन। चेैत महिनाभर थेेग्न सकिन्छ । हामीले देशैभरिको नेपाल खाद्य व्यवस्था कार्यालय, साल्ट ट्रेडिङका कार्यालय भएको स्थानमा कुनकुन जिल्लामा कतिकति मौज्दात, केके चाहिन्छ, त्यसको विवरण देऊ भनिरहेको छौं।
हामीलाई जानकारी आए अनुसार अभाव भएका जिल्लामा जाजरकोट, मुगु, हुम्ला लगायतका छन्। ती क्षेत्रमा पठाउन लागिरहेका छौं। अन्य स्थानमा पनि अभाव छ भने त्यसको सामाना गर्न तयारी पनि गरेका छौं। यतिबेला केही व्यवसायीले पनि सहयोग गरेका छन्। सहयोगी हातहरुलाई सरकारले धन्यवाद दिएको छ।
दैनिक ज्यालादारी गर्ने नागरिकका साथै साना उद्यमीहरु चरम आर्थिक संकटमा पर्ने चर्चा भइरहेको छ। ती व्यक्ति र उद्यमीका लागि सरकारले केही राहत प्याकेज ल्याउने विषयमा सोचेको छ कि छैन?
अहिले कोरोना भाइरसबाट कसरी बच्ने र बचाउने मुख्य कुरा हो। उद्योगहरु के हुन्छन्, त्यसले अर्थतन्त्रमा के प्रभाव पार्छ, ती सबै हामी बचिसकेकपछि गर्ने कुरा हो। दैनिक ज्यालादारी मजदुरका बारेमा सरकारले छलफल गरिरहेको छ। नेपाली संस्कृति के हो भने कोही पनि दुःखमा पर्दा हरेकले साथ दिन्छ। अप्ठ्यारो बेलामा सहयोगी हातहरु अघि बढ्छन्। सरकारले कोरोना विपतको सामना गर्न कोष पनि खडा गरेको छ। सहयोग धेरैतिरबाट जुटिरहेको छ। कोषले पनि हाम्रो समस्याको हल गर्न सहयोग पुर्याउँछ।
सरकारले लकडाउन घोषणा गर्दागर्दै पनि नागरिक सडकमा देखिएका छन्। चेतनाको कमी होला वा अवज्ञा गरेका हुन्?
सुरक्षाकर्मीहरुले लकडाउनको निगरानी गरिरहेका छन्। नागरिकलाई सचेत पनि बनाइरहेका छन्। बल प्रयोग गर्न नपरोस् भन्ने सरकारको चाहना हो। एकाध व्यक्तिले बल मिच्याई गरे पनि आम जनताले साथ दिएका छन्। अवज्ञा गर्नु उनीहरुमा चेतनाको कमीले पनि होला। सारमा भन्नुपर्दा, जनताले सरकारलाई साथ दिइरहेका छन्। तीन दिनको समीक्षा गर्दा केन्द्रीय राजधानी त पूरै लकडाउन नै थियो। फाटफुट निस्कनु अलग कुरा हो।
कोरोना भाइरसका कारण नेपालमा हाल देखापरेका चुनौती के के हुन्?
बाहिरबाट आउन अहिले पूरै रोकिएको छ। संक्रमण देखिएका देशबाट आउनेहरुले आफू आएको देश नभनिदिँदा अथवा सरकारलाई जानकारी नदिएर लुकाउँदा चुनौति सरकारमा परेको छ। भारतमा संक्रमण फैलिएपछि त्यहाँका सहरबाट आएका हाम्रा नागरिक सीमाबाट भित्रिएका छन्। खुला सीमा भएकाले पनि नाकाहरुबाट प्रवेश गरेका छन्। नेपाल प्रवेश गर्ने व्यवस्थालाई समेत तोडेर कैयौं मानिसहरु नेपाल आएका छन्। क्वारेन्टाइन/आइसोलेसनमा नबस्दा पनि सरकारलाइ चुनौति थपिएको छ।
उनीहरुबाट संक्रमण फैलिएमा भयावह स्थिति आउनसक्छ। पछिल्लो चरणमा को कहाँबाट आएको तथ्यांक देखिन्छ। तैपनि जानकारी लुकाउने जनताको स्वभावले अलि समस्या थपिन्छ।
सीमाबाट संक्रमितहरु प्रवेश गर्दा नेपाल समेत जोखिम हुँदाहुँदै चीनको नाका फेरि खोल्ने तयारी किन गर्नुपरेको हो?
व्यक्ति प्रवेश गर्नेगरी चीनको नाका खोल्न थालेको होइन। वस्तु ल्याउनका लागि नाका खोलिएको हो। वस्तु ल्याउँदा समेत त्यसलाई १४ दिन क्वारेन्टाइनमा राखिन्छ। सुरक्षाका सम्पूर्ण विधि प्रयोग गरिन्छ। मान्छे माथि पूरै प्रतिवन्ध नै छ। प्रतिबन्ध नै हुन्छ।
चीनबाट आयात हुने दैनिक खाद्यवस्तुका लागि नाका खोलिन लागेको हो। विगतमा आएर रोकिएको सामानलाई नेपाल ल्याउन पनि नाका खोल्न लागिएको हो। ४२ दिनभन्दा अघिदेखि त्यहाँ सामान अड्किएको छ। आपूर्तिका लागि सामान ल्याउन लागिएको हो। आयात नै नगरी जनता आपूर्ति सहज हुन सक्दैन। लकडाउन भनेको व्यक्तिका लागि हो, सामानका लागि होइन। भारतबाट पनि आयात भइरहेको छ।
नाका खोलियो भने पनि सर्वसाधारण डराउनेपर्ने स्थिति छैन?
छैन। सामान ल्याउने कुरामा १४ दिन क्वारेन्टाइनमा बस्छ। त्यो सामान ल्याउने व्यक्ति पनि क्वारेन्टाइनमा बस्छ।
चेकजाँच गर्ने चिकित्सकहरुले पनि सुरक्षित पोसाक र उपकरण नभएकाले डराउनुपर्ने अवस्था छ। अन्य देशले सहयोग दिन्छु भन्दा पनि ल्याउन सकिएको छैन। कहिलेसम्म नेपाल आइपुग्छ?
कतिपय आवश्यक सामान हामीसँगै छ। भएको सामाग्री अपर्याप्त छ, त्यो सत्य हो। अभाव भएका सामाग्री तत्काल ल्याउन पहल गरिरहेका छौं। हामीलाई आवश्यक हुने किट, पिपिई यहीँ पनि निर्माण गर्ने कुरा भइरहेको छ। केही उद्योगीले प्रयत्न गरिरहेका छन्।
जस्तो, अब हामीलाई मास्कको अभाव हुदैन। एउटै उद्योगीले दैनिक ७० हजार मास्क उत्पादनगरी रहेका छन्। पहिले उत्पादन गरेको मास्कमा पनि थप हुन्छ। अरु सबैले गर्दा दैनिक लाख सवा लाख जति उत्पादन हुन्छ अब मास्क अभाव हुदैन। किट चीनबाट ल्याउने कुरा भइरहेको छ। त्यो ल्याउने तयारी भइरहेको छ। नेपाल वायू सेवा निगमले कार्गोबाट ल्याउने भएको छ। त्यो पनि अभाव हुन दिँदैनौं।
अब कति दिनभित्र नेपाल आइपुग्ला?
अहिले त्यस्तो अभावै भएको होइन। हिजोको जस्तो भौगोलिक दुरी अब छैन। अभाव भएका सामाग्रीहरु विस्तारै सहज बनाउँछौ। अहिले काठमाडौं मात्रै प्रयोगशालाहरु छन्। अब सातै प्रदेशमा प्रयोगशाला निर्माण गर्ने भनेका छौं। परीक्षणको पनि व्यवस्था गर्ने भनेका छौ। जहाँ परीक्षण गरिन्छ, त्यसको स्वाब कलेक्सन गरेर हवाई मार्गबाट काठमाडौं ल्याउने भनिएको छ।
चीनको वुहानबाट आएका नेपालीलाई सरकारले १४ दिन क्वारेन्टाइनमा राखेर उपचार गर्यो। तर भारतको सीमा जोडिएका मेचीदेखि महाकालीसम्म आएका नेपाली त्यसमा पनि तपाईंकै क्षेत्रका धेरै नेपाली आए, तिनीहरुलाई क्वारेन्टाइन त परको कुरा, सामान्य स्वास्थ्य परीक्षण नै गरिएन भन्ने कुरा आइरहेको छ। किन बेवास्ता गरियो?
त्यस्तो बेवास्ता नै गरिएको होइन। परीक्षण पर्याप्त मात्रामा भएन, त्यो भने सत्य हो। त्यो खालको भीड नै आउला भन्ने कल्पना पनि गरिएको थिएन। उता भारतमा पनि लकडाउन भयो। नेपालीहरुले काम गर्ने कम्पनीहरु बन्द भएपछि यता आउनेको संख्या धेरै भयो। त्यो भिडलाई रोक्न सकेनौं।
चीन-नेपालको सीमाना र भारत-नेपालको सीमाना भिन्न अवस्था हो। त्यो भिन्नतालाई पनि बुझ्नुपर्छ। भारतबाट आएका जनतालाई बुझाउन सकेनौं। कतिपय मान्छे यति अराजक छन् कि क्वारेन्टाइनमा राख्न खोज्दा पनि भागे। त्यहाँको प्रदेश सरकार र स्थानीय सरकारले आफ्नो क्षमताले भ्याएसम्म परीक्षण र क्वारेन्टाइनमा राख्ने व्यवस्था गरे। त्यो कति सके वा सकेनन्, त्यो समीक्षाको विषय हो।
यदि ती व्यक्तिलाई कोरोना संक्रमण देखियो भने सुदूरपश्चिम प्रदेशबाट काठमाडौं ल्याउन निकै कठिन होला नि होइन?
त्यसबारेमा हिजो छलफल भयो। सुदूरपश्चिम नाकाबाट जुन भीड प्रवेश गर्यो, १७ जिल्लाका थिए। त्यहाँ प्रदेश २ सम्मका मान्छेहरु थिए। पश्चिम नाकाबाट दिल्ली, पञ्जाब, सिमलामा काम गर्ने पूर्वदेखि पश्चिमसम्मका मान्छेहरु आए। जसले गर्दा ठूलो भीड देखियो। त्यहाँ प्रदेश ५ का पहाडी, कर्णाली र सुदुरपश्चिम प्रदेशका मान्छे पनि छन्। त्यसको लागि केके तयारी गर्ने भन्ने सम्बन्धमा एजेण्डामा छ। त्यसमा छलफल भइरहेको छ।
अन्तमा उद्योग मन्त्रीको हैसियतमा यो संकटमा नेपाली जनतालाई के भन्न चाहनुहुन्छ?
नेपाल सरकारको मन्त्री, विशेषगरी उद्योग वार्णिय आपूर्ति मन्त्रीको हैसियतले आम उपभोक्तालाई के भन्न चाहन्छु भने कोरोना भाइरससँग लड्ने भनेको आफैंलाई कोठामा कैद गर्ने हो। ढोकाबाट कोरोनालाई भित्र आउन नदिने हो। आफू सबैभन्दा धेरै अनुशासित हुने हो। आफूलाई त्यस्तो खालको लक्षण देखिएको छ भने सम्बन्धित चिकित्सकलाई देखाउनुपर्छ। स्वास्थ्य मन्त्रालयले भनेका सामान्य नियमहरु अपनाउनुपर्छ। लकडाउनलाई सबैले गर्नुपर्ने बेला छ। यतिबेला सबै नेपाली जनता एक ठाउँमा हुन जरुरी छ।
नेपाल सरकारले मात्रै गरेर हुनेवाला छैन। यसमा सबैको सहयोगको आवश्यकता छ। एकतावद्ध भएर कोरोनासँग लडौं। यही आम नेपाली जनतामा अपिल छ। कुनै वस्तुको अभाव हुन नदिने प्रयत्न गर्ने छौं। पूरै राज्य लागेको छ। पूर्ण रुपमा विश्वस्त हुन नेपाली दाजुभाई तथा दिदीबहिनीमा हार्दिक अपिल गर्दछु।
भिडियो
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।