काठमाडौं - जर्मनीसहित युरोपका नागरिक लिन कतार एयरवेजको चार्टर फ्लाइट काठमाडौं आएको छ। जर्मनसहित युरोपेली देशका करिब ३ सय जना नागरिक लिन यो जहाज काठमाडौं आइपुगेको हो।
जर्मन दूतावासले चार्टर उडान गरेको हो। नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले करिब ३ सय जना विदेशी लैजान यो जहाज आएको बताए।
सरकारले कोरोनाको जोखिमका कारण अन्तर्राष्ट्रिय उडानमा बन्देजसँगै देशभर लकडाउन घोषणा गरेको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुले विदेशबाट यात्रु बोकेर आउन पाउने छैनन् भने यहाँबाट लैजान सक्छन्।
क्षेत्रीका अनुसार दोहाबाट काठमाडौं आएको विमान सिधै फ्रान्सको पेरिस जानेछ। यसबाहेक पनि अमेरिका, जापान र अष्ट्रेलियाले पनि आफ्ना नागरिक लैजानका लागि अनुमति माग गरिरहेका उनले जनाकारी दिए। यसका लागि परराष्ट्र मन्त्रालयमार्फत अनुमति लिनुपर्ने हुन्छ।
कोरोना जोखिम न्यूनीकरण उच्चस्तरी समितिको मंगलबार बसको बैठकले पनि देशका विभिन्न भूभागमा रहेको विदेशी नागरिकलाई उद्धार गरी उनीहरुकै देश पठाउने निर्णय गरेको थियो।
अहिले नेपालमा एक हजार भन्दा बढी पर्यटक अलपत्रमा परेको अनुमान गरिएको छ। बिहीबार र बुधबार गरी दुई दिनमा मात्रै हवाई उडान र बसमार्फत झन्डै २ सय विदेशी नागरिकलाई उद्धार गरेर काठमाडौं ल्याइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।