काठमाडौं- लामो समयदेखि त्रिवि कानुन संकाय डिन कार्यालयमा लगाइएको ताला खुलेको छ।
विद्यार्थी र डिन कार्यालयबीच आइतबार सहमति भएपछि करिब ४० दिनदेखि लगाइएको तालाबन्दी खुलेको नेपाल ल क्याम्पसका प्रमुख दिनानाथ पराजुलीले जानकारी दिए।
डिन कार्यालयले कानुन संकायको स्नातक प्रथम वर्षमा पाँच जनाको कोटा प्रणाली लागू गरेपछि त्यस विरुद्ध अनेरास्ववियु ल क्याम्पसका कमिटीले फागुन १४ गतेदेखि तालाबन्दी गरेको थियो।
क्याम्पस प्रमुख पराजुलीले ताला खुलेपछि चाँडै नै स्नातक तहको भर्ना प्रक्रिया सुरु गरिने जानकारी दिए।
सहमति अनुसार स्नातक प्रथम वर्षमा भर्नाका लागि ६ सय जनाको कोटा छुट्याइएको क्याम्पसका निवर्तमान स्ववियु सभापति गुणराज आचार्यले जानकारी दिए।
क्याम्पस प्रमुख पराजुलीले कोटा निश्चित भएपछि प्रवेश परीक्षाबाट विद्यार्थी भर्ना गरिने बताए।
'तालाबन्दी खुलेपछि अब भर्नाका लागि फाराम वितरण गर्नेछौं”, उनले भने, 'प्रवेश परीक्षामा उत्तीर्ण गरेपछि मात्र कोटाअनुसार विद्यार्थी भर्ना गर्नेछौं।'
कानुन विषय पढ्न विद्यार्थीको आकर्षण भएपछि यस पटकदेखि कोटा प्रणाली सुरु गरिएको हो। यसअघि चार हजार २३८ विद्यार्थी स्नातक तहमा भर्ना भएका थिए।
क्याम्पस प्रमुख पराजुलीले क्याम्पसको क्षमताअनुसार ६०० जना पढ्नका लागि कोटा छुट्याइएको बताए।
ताला लगाउँदा स्नातकोत्तर तहको प्रवेश परीक्षाको नतिजा समेत प्रकाशन हुन पाएको छैन। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।