काठमाडौं- कान्तिपुर मिडिया ग्रुपले आफ्ना सम्पूर्ण छापा संस्करणको प्रकाशन स्थगन गरेको छ। विशेष प्रकाशकीय लेख्दै कान्तिपुर पब्लिकेसन्सले ‘कान्तिपुर’ र ‘द काठमाडौं पोष्ट’ दैनिकका साथै नेपाल, नारी र साप्ताहिकको प्रकाशन स्थगन गरेको जनाएको छ।
'हामी हरेक बिहान सकेसम्म चाँडै सबैका ढोका–ढोकामा पत्रिका पुर्याउन चाहन्छौं, तर यसरी पत्रिका बाँड्दै हिँड्ने वितरक–वाहकहरूको स्वास्थ्य र सुरक्षा अहिले हाम्रा निम्ति सरोकारको गम्भीर विषय बनेको छ। हामीले उनीहरूमा भाइरसको संक्रमण नहोस् भनेर मास्क, पञ्जा र स्यानिटाइजरको व्यवस्था गरेका छौं। अन्य सुरक्षा सावधानी पनि अपनाएका छौं,' विशेष प्रकाशकीयमा भनिएको छ, 'तापनि सहरका अनेक टोल र ठाउँहरू हिँड्दै गर्नुपर्ने काम भएकाले कुनै पनि बखत संक्रमित हुन सक्ने र त्यसबाट रोग फैलन सक्ने खतरालाई हामी बेवास्ता गर्न सक्दैनौं। सबै तहका सहकर्मीको जीवनरक्षा हाम्रो पहिलो दायित्व हो।'
कान्तिपुरले आफ्नो यो निर्णयलाई कठोर निर्णयको संज्ञा दिएको छ।
'आफ्ना सहकर्मीको संवेदनशील अवस्था, आम नागरिकको मनोभावना र राज्यको आह्वान- यी तीनवटै कुरालाई दृष्टिगत गर्दै हामी एउटा कठोर तर अत्यावश्यक निर्णयमा पुगेका छौं,' विशेष सम्पादकीयमा भनिएको छ, 'जसअनुरूप कान्तिपुर, दी काठमान्डु पोस्ट, साप्ताहिक, नेपाल र नारी पत्रिकाको मुद्रण तथा वितरण शुक्रबारपछि केही दिनका निम्ति स्थगन हुनेछन्।'
कान्तिपुरले अवस्था सामान्य हुने बित्तिकै पत्रपत्रिका प्रकाशन पूर्ववत् सञ्चालन हुने जनाएको छ। २०४९ सालबाट प्रकाशन आरम्भ गरेको कान्तिपुरले पहिलोपटक पत्रपत्रिका छपाइ रोक्ने निर्णय लिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।