कोरोना भाइरस विरुद्ध ऐक्यवद्धता जनाउन सरकारको आदेश शिरोपर गर्दै नेपालीहरु लकडाउनमा छन्। विश्व आतंकित भएको यस घडीमा त्रासले सवैका नाडीनशा गलेका छन्। अनपेक्षित रुपमा फैलिरहेको तर विश्वको 'मै हुँ' भन्ने देशको समेत जोर नचलेको यो परिस्थितिमा एक कमजोर देशका जनताको मनोदशा कस्तो हुन्छ? त्यही मनोदशमा आमजन गुज्रिरहेका छन्।
हालसम्म नेपाल जोगिएको छ। यति दिमागमा आउँदा सँगै प्रश्नसमेत टुसाउँछ- कतिदिन यसैगरी जोगिएला?
ज्यामितीय गतिमा फैलिरहेको कोरोनासँग निरीह बनिरहेको छ, विश्व। नेपाल जोगिएला भन्ने आशा गर्न सकिँदैन। यस्तो अवस्थामा हरेकसँग छ त केवल निराशा मात्रै।
कोरोना भाइरसको संक्रमण कताबाट पो आफूसम्म आइपुग्ला भनेर घरभित्र थुनिरहेका छन् नागरिक। कथंकदाचित संक्रमण भइहाले उपचार पाउन नसकिने पीर छ, उनीहरुसँग। संक्रमण फैलिहाले त्यसविरुद्ध डट्छौं भन्ने चिकित्सकहरु व्यक्तिगत सुरक्षा कवच होइन, मास्कसमेत पाउन नसकेको दुःख पोखिरहेका छन्। यस्तो अवस्थामा सरकारले गर्न सक्ने काम सीमित होलान्, तर दिलाउन सक्ने भरोसा असीमित हुन जान्छ।
'केही परे सरकार छँदैछ' भन्ने आशाले पनि बन्द कोठामा जीवन गुजारिरहेको नागरिकमा कोरोना विरुद्ध लड्ने आँट बढ्न सक्छ। आत्मविश्वास हरेक रोगविरुद्धको आधा औषधि भन्छन्, डाक्टरहरु। किनकी रोग प्रतिरोधक क्षमता बढाउन तनाव र पीरभन्दा आत्मविश्वास नै लाभदायी हुन्छ।
एक परिवारको आत्मविश्वास कसले जगाउँछ? घरमुलीले। नेपाल नामक परिवारको आत्मबल जगाउनु कसले पर्छ? प्रधानमन्त्रीले। तर, प्रधानमन्त्री आफैं बिरामी हुनुहुन्छ। अहिलेको कोरोना भाइरसको महासंकटमा देशको अभिभावकको भूमिकामा स्वभाविक रुपमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल हुनुहुन्छ। विभागीय मन्त्रालय भएका कारण पनि अरु मन्त्रीभन्दा उहाँको भूमिका, बोली र व्यवहार विशेष हुन्छ।
धेरै कुरा यतिबेला उहाँको वशमा छैन। विश्वकै नेता ठान्ने ट्रम्पको वशमा नभएको कुरा हो यो। यतिबेला उहाँले देशका नागरिकलाई दिनसक्ने एउटै कुरा हो, भरोसा।
देशमा दुईथरि नागरिक छन् यतिबेला। एकथरि छन्, जसलाई संक्रमण भए के गर्ने भन्ने पीर लिए पुग्छ। अर्कोथरी छन्, जो अरुलाई भएको संक्रमण विरुद्ध आफू कसरी लड्ने भनेर चिन्तित छन्।
स्वास्थ्यमन्त्रीज्यू, यतिबेला सामाजिक सञ्जालमा तपाईंको एउटा भिडियो भाइरल भइरहेको छ। जुन हेर्दा दोस्रोथरीका नागरिकको मन कटक्क खान्छ। त्यो भिडियोमा नेपालका चिकित्सा क्षेत्रका 'लिडर'हरुसँग तपाईं हुनुहुन्छ। भनिरहनुभएको छ- ‘म त पिपिई (संक्रमितको उपचारका क्रममा स्वास्थ्यकर्मीले प्रयोग गर्ने व्यक्तिगत सुरक्षा कवच) भन्ने पनि बुझ्दिनँ। मनोविज्ञान कस्तो बन्यो भने अब पिपिई बिना घरमा भात पकाउन पनि खतरा हुन्छ भन्ने अवस्था आयो।‘
संयोगले तपाईंले यस्तो बोल्ने दिन म स्वास्थ्य मन्त्रालयकै प्रांगणमा थिएँ। तपाईं मन्त्रालयभित्र यस्तो बोलिरहँदा बाहिर वीर अस्पतालका दुई युवा चिकित्सक मास्कसमेत पाइएन भन्ने गुनासो लिएर मन्त्रालय आइरहेको बताउँदै थिए। तपाईंलाई मेरो कुरा पत्यार लागेन भने तपाईंहरुले नै नेपाल मेडिकल काउन्सिलको अध्यक्ष नियुक्त गरेका डा भगवान कोइरालालाई सोध्नुहोस्।
तपाईंको यही बैठकमा जान आएका डा कोइरालासँग उनीहरुले जसरी आफ्नो कुरा प्रस्तुत गरे। म त भित्रैदेखि हल्लिएको थिएँ। डा कोइराला साँक्षी रहेको त्यो भनाई यस्तो थियो, 'वीर अस्पतालमा सर्जिकल मास्कसमेत पाइएन। यो मास्क जुन मैले लगाइरहेको छु, त्यो बुवाले गिफ्ट गर्नुभएको हो। हामी उपचारका लागि खट्छौं तर आवश्यक सामाग्रीको जोहो गरिदिन हजुरले पनि भनिदिनुपर्यो।'
डा कोइरालाले अस्पताल प्रमुखको अकर्मण्यतामाथि रोष प्रकट गरेर उनका कुरालाई सम्बन्धित ठाउँमा पुर्याउने सहमतिको टाउको हल्लाए। उनीहरुको कुरा सुन्दा 'केही परे अस्पताल छँदैछन्' भन्ने विश्वास गर्ने मजस्ता नागरिकको मन अमिलो हुन स्वभाविकै थियो।
यस्तो सुनेर आएको दिनको बेलुकी तपाईंको त्यो भिडियो हेर्न पाइयो। जहाँ थियो एक जिम्मेवार मन्त्रीको गैरजिम्मेवार अभिव्यक्ति। त्यो भिडियो क्लिप हेर्दै गर्दा मेरो आँखामा नाँचिरहे, वीरका ती दुई युवा चिकित्सक। जसलाई म पहिल्यैदेखि चिन्छु र उनीहरुको लगनखटन यसअघि पनि अनुभूत गरेको छु। त्यसपछि तपाईंले मुखमा मास्क कोरोना रोक्न होइन, लाज छोप्न पो लगाउनुभयो कि भन्ने पो महसुस भयो!
स्वास्थ्यमन्त्रीज्यू, आफ्नो अभिव्यक्ति फेरि सुन्नुहोस्। मनदेखि महसुस गर्नुहोस्, के साँच्चै एक स्वास्थ्यकर्मीले भात पकाउनका लागि मागेको हो त पिपिई? आफ्नो ज्यानसँग खेलेर जनताको ज्यान जोगाउँछु भन्ने एक स्वास्थ्यकर्मी त्यति गैरजिम्मेवार हुन सक्ला? उनीहरु त्यति गैरजिम्मेवार हुन सक्छन् जस्तो मलाई लाग्दैन, जति तपाईं भइसक्नुभयो।
आफू मातहतकालाई फकाएर काममा खटाउनु पर्ने अवस्था छ। उनीहरुको मनोबल उच्च राख्न तपाईंले मीठो बोलीको सहारा लिनुपर्नेछ। तर, यस्तो बेलामा पनि तपाईंको बोलिपिच्छे घोचपेच निस्किन्छ। तपाईंले फेरि बुधबारको पत्रकार सम्मेलनमा 'जो पनि प्रवक्ता' भन्दै कोरोनाका विषयमा सही सूचना दिइरहेका स्वास्थ्य मन्त्रालय अन्तर्गतका कर्मचारीलाई हियाउनुभयो।
सूचनाको एकद्वार प्रणाली तपाईंको उद्देश्य होला। गलत सूचना नजाआस् भन्ने चाहना होला। तर, मन्त्रालयका कर्मचारीबाट हामीले बुधबार पोजिटिभ देखिएका बिरामीको सही सूचना पाएका हुन्थेनौं भने तपाईं गलत सूचना प्रवाह गर्न हामीलाई समेत बाध्य पार्नुहुने रहेछ। तपाईंको पत्रकार सम्मेलनअघि नै हामीले सही लेखेका रहेछौं। तर, तपाईंले भने न त बिरामी आएको देश सही भन्न सक्नुभयो न उनीबारेका सूचना। सूचनाको एकद्वार त हामी पनि चाहन्छौं तर एकद्वारबाट आउने गलत सूचना प्रवाह गर्न अभिशप्त पो हुन्छौं कि भन्ने डर बढेको छ हिजोदेखि।
त्यसअघि सञ्चारमाध्यमले तपाईंको प्रतिक्रिया लिन खोज्दा 'नबोल्ने भनेपछि नबोल्ने' भन्नुभएको थियो। सँगै घरमा पाहुना आएको बताउनुभएको थियो। पाहुना आएका कारण नबोल्ने भन्नुभएको अर्थ्याइएको थियो। त्यसको अन्तर्य तपाईं नै जान्नुहोस्।
लगातार तपाईंका गैरजिम्मेवार अभिव्यक्ति आइरहँदा चाहिँ महसुस भइरहेको छ, यस्तो अमिलो परिस्थितिमा तपाईंको तीतो सुन्नुभन्दा नबोल्नुभएकै बेस। कोरोनाबाट जोगिन मुखमा मास्क मात्रै होइन, तपाईंको बोलीमा 'लकडाउन' पनि जरुरी देखियो। कम से कम भरोसा दिलाउन नसक्ने अभिभावकको कटाक्ष सुन्नु त पर्नेछैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।