काठमाडौं- आउँदो जुलाई २४ देखि अगस्ट ९ सम्म जापानमा हुने तय भएको ओलम्पिक खेलकुद एक वर्ष पछि सर्ने भएको छ। जापानी प्रधानमन्त्री सिन्जो आबेले ओलम्पिक एक वर्ष पछि सार्न अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमस बाचसँग सहमति गरेको सिएनएनले जनाएको छ।
मंगलबार पत्रकारहरुसँग कुरा गर्दै आबेले भनेका छन्– ‘ओलम्पिक कमिटीका अध्यक्षसँग मैले ओलम्पिक एक वर्ष पछि सार्ने कुरा गरेको थिएँ र उहाँ शतप्रतिशत सहमत हुनुभएको छ।’
कोरोना भाइरस (कोभिड–१९) संक्रमण फैलँदै गएकाले ठप्प रहेको विश्व खेलकुदको अवस्था थप नाजुक बन्दै जाँदा ओलम्पिक सार्न अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) र जापानमाथि दबाब परिरहेको थियो।
ओलम्पिक खेलकुदमा २ सय ५ भन्दा बढी देशका ११ हजार भन्दा बढी खेलाडी र लाखौँ दर्शक सामेल हुनेछन्। यस्तो अप्ठ्यारो परिस्थितिमा ठूलो खेल उत्सव सञ्चालन गर्न नहुने भन्दै दबाब परेपछि आइओसीले ओलम्पिक सार्ने या नसार्ने भन्ने विषयमा छलफलमा जुटेको थियो। चार हप्ताको समय लिएर सुरु भएको छलफलमा दुई दिनमा नै सहमति जुटेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।