एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसलाई 'चिनियाँ भाइरस' भनेसँगै अमेरिकामा एसियाली मूलका अमेरिकी नागरिकमाथि दुर्व्यवहारका घटना बढेका छन्। अमेरिकामा कोरोना भाइरसको संक्रमण बढेसँगै अमेरिकामा रहेका एसियाली-अमेरिकीमाथि दुर्व्यवहार हुन थालेपछि उनले 'एसिएन-अमेरिकन अमेजिङ्ग पिपल' भएको भन्दै प्रशंसा गरेका छन्।
'एसियाली मूलका अमेरिकीको देशभित्र र देशबाहिर हामी सुरक्षा गर्नेछौं,' उनले भने, 'यो महत्वपूर्ण विषय हो।'
ह्वाइटहाउसमा कोरोना भाइरस टास्क फोर्सको पत्रकार सम्मेलनमा उनले कोरोना भाइरस फैलनुमा एसियाली मूलका अमेरिकीको कुनै गल्ती नभएको बताएको बिबिसीले लेखेको छ।
ट्रम्पले एसियाली मूलका अमेरिकीहरू पनि कोरोना भाइरसको महामारीबाट मुक्त हुन मिलेर काम गरिरहेको बताए। अघिल्लो पत्रकार सम्मेलनमा उनले कोरोना भाइरसलाई चिनियाँ भाइरस भनेका थिए। उनको अभिव्यक्ति आएसँगै अमेरिकामा बस्दै आएकी एसियाली मूलका अमेरिकीले मौखिक र शारीरिक दुर्व्यवहार बढेको रिपोर्ट आएका थिए।
उनको शब्द भेदभावपूर्ण रहेको संवाददाताहरूले बताउँदा उनले 'यो चाइनाबाट आएको हो, शब्द भेदभाव हुनै सक्दैन' भनेका थिए। विश्व संस्थाको गाइडलाइन अनुसार कुनै रोग कुनै समुदायसँग जोड्न नहुने उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।