एजेन्सी- इरानका सर्वोच्च धार्मिक नेता आयोतोल्लाह अली खामेनीले कोरोना भाइरसको संक्रमण रोक्न अमेरिकाले गरेको सहयोग प्रस्ताव अस्वीकार गरेका छन्। उनले सहयोगका नाममा अमेरिकाले इरानका जनताविरुद्द षड्यन्त्र गर्ने तयारी गरेको भन्दै सहयोग प्रस्ताव अस्वीकार गरेका हुन्।
अमेरिकाले कोरोनाविरुद्द लड्न इरानलाई सहयोग गर्न तयार रहेको बताएको थियो। खामेनीले सहयोगका नाममा अमेरिकाले कोरोना भाइरसलाई इरानमा बढावा दिने षड्यन्त्र गरेको हुनसक्ने दाबीसमेत गरेका छन्।
'हामी अमेरिकालाई कहिल्यै विश्वास गर्न सक्दैनौ' उनले भनेका छन्। उनले अहिलेको अवस्थामा अमेरिकाले इरानलाई सहयोगको प्रस्ताव गर्नु नै अचम्मलाग्दो विषय भएकोसमेत बताएका छन्।
चीनबाट सुरु भएको कोरोना भाइरसबाट इरानसमेत प्रभावित भइरहेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार इरानमा कोरोना भाइरसबाट २० हजार बढी संक्रमित भइसकेका छन् भने एक हजार पाँच सयको ज्यान गइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।