विश्वका अधिकांश देशका मानिस कोरोना भाइरस संक्रमणको त्रासले आक्रान्त छन्। छिमेकी देश चीनबाट फैलिएको महामारीले हामीलाई त्रसित बनाउनु स्वभाविक थियो। त्यसमाथि, विश्व स्वास्थ्य संगठनले नेपाल उच्च जोखिममा रहेको बताएपछि त्रास थपियो।
उदेक र विवशताको यो परिदृश्यले यो महामारी जीवनमरणको अन्तिम संघर्ष जस्तो देखिन थालको छ।
अन्यौल र चिन्ताका बीच चैत्र ६ गतेबाट सुरु हुने भनिएको एसइई अघिल्लो दिनमात्रै स्थगित भयो।
यसले उनीहरुमा डर र विरक्तपना पैदा हुन्छ। उनीहरूलाई सरलीकरण गर्नु नितान्त जरुरी छ। यस्तो बेलामा अभिभावकको भूमिका महत्त्वपूर्ण हुन्छ।
२०७२ सालको भूकम्पबाट भएको पीडा ताजै छन्। लगतै अघोषित नाकाबन्दीका कारण जनताले भोग्नुपरेको कालाबजारी र दैनिक उपभोग्य वस्तुको अभावले जनता निस्सासिएका दिनहरुको धेरैलाई याद छ।
सामान्य सिटामोल पनि नपाउने अवस्थामा कोरोना भाइरसको संक्रमण भएमा मृत्यु नै हुन्छ होला भनेर धेरै मानिस आत्तिएको देखिन्छ। ज्याला मजदुरीबाट जीवन गुजारा गरिरहेका धेरैले रोग र भोकबाट मर्नुपर्ने हो कि भनेर विरक्त लागेको छ।
किशोरावस्थाको मानसिक अवस्था
एसइई दिने बहुसंख्यक विद्यार्थीहरूको उमेर १५–१६ वर्षका हुन्छ। मनोवैज्ञानिक दृष्टिकोणबाट भन्नुपर्दा यस उमेर समूहलाई किशोरावस्था भनिन्छ। बोलीचालीको भाषामा 'टिनएज' पनि भन्ने चलन छ।
स्वाभाविक रूपमा यो उमेरमा हरेक व्यक्तिको मनोभावनामा निकै उथलपुथलकारी हुन्छन्। संवेगहरू तरंगित हुने गर्छन्। शारीरिक पक्षमा शरीरभित्र पियुषग्रन्थी (Pitutary gland) र यौन उत्तेजनात्मक ग्रन्थी (Gonadotropic Hormons)का उत्पादन सुरु हुने कारण पनि विशेष संवेगात्मक (सोचाइ, बुझाइ दृष्टिकोण) परिवर्तन आउँदा हरेक पाइलामा भ्रमित, असुरक्षित र अप्ठ्यारो अनुभव गर्दछन्।
यो उमेरकाले झर्कोफर्को गर्ने, रिसाउने, चिटचिटाहट अनुभव गरेको हुन्छन्। परिपक्व र दूरदर्शी निर्णय लिन सकेको हुँदैन। किशोरावस्थाका विद्यार्थीहरूको मनस्थिति अस्थिर (Instability) हुन्छ।
कल्पनाशक्ति अधिक विकास भई ईच्छा आकांक्षा उच्च बिन्दुमा पुर्याउनु मनोविज्ञानको दृष्टिकोणले स्वाभाविक हो। सोही अनुरूपको वातावरण प्राप्त गर्न नसक्दा व्यग्रता, अन्यौल, निराशापन, उदासीनता, तनाव र भयभित अवस्थामा पुगेको देखिन्छ।
अभिभावक र शिक्षकको भूमिका
सबै किशोरकिशोरीको मनोभावना एकै प्रकारको हुँदैन। शारीरिक र मानसिक परिवर्तनले उनीहरूमा उथलपुथल ल्याइरहेको हुन्छ। अभिभवाकले यो कुरा बुझ्न जरुरी छ।
किशोरकिशोरीको मनोविज्ञानमा प्रतिकूल प्रभाव पार्न नदिन कस्तो व्यवहार गर्ने र कस्तो कुराकानी गर्ने भन्ने तथ्य बुझ्नुपर्छ। तिनमा अनावश्यक विचलन आएर पोस्ट ट्रोमाटिक स्ट्रेस डिस्अर्डर, फोबिया, सेपरेसन एन्जाइटी डिस्अर्डर, कन्भर्जन डिस्अर्डर र डिप्रेशन जस्ता विचलन निम्तिने सम्भावना रहन्छ।
रोग व्याधी, महामारी, प्राकृतिक प्रकोप मानव जीवनको लागि जटिल चुनौतीको पक्ष हो। ती चुनौती युगौंदेखि सामना गर्दै आएका छन्। यसका कारक तत्व संयोग र प्राकृतिक नियती नै हो।
अभिभावकको हस्तक्षेप उनीहरुप्रति उद्देश्यमूलक र सन्तुलित हुनु आवश्यक छ। संवेग, उत्तेजना, पूर्वाग्रह निहित स्वार्थलाई विश्लेषण गर्नुपर्छ। सुरक्षाको प्रत्याभूति दिनु दायित्व हो। हरेक परिस्थितिको सामना गर्न मन र मस्तिष्कको उचित सन्तुलन चाहिन्छ।
कुनै पनि महामारीलाई सामना तथा निर्मुल असाधारण गुण र चमत्कारले हुने हैन। प्रतिरक्षाको लागि सबै पक्षमा सबल अभ्यासको परम्परा बसाल्नुपर्छ। त्यस्तै, चीन तथा अन्य देशले गरे जस्तै अनलाइनमार्फत् पढाउनतर्फ ध्यान दिनुपर्छ। धैर्यता र मनोबल बढाउन व्यायाम गर्न सकिन्छ, जसले गर्दा शरीरमा स्फूर्ति बढ्छ।
(कासुला सहायक प्राध्यापक हुन्)
*सांकेतिक तस्बिर
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।