सामान्य मानिसको सामान्य अनुभवलाई यथार्थमा अनुवाद गर्ने हो भने अहिलेसम्म देशमा कोरोना होइन, कोरोना महामारीका विरुद्ध सरकारी प्रचारको महामारी फैलिइसकेको छ।
छिमेकी राष्ट्र चीनको वुहान सहरमा उत्पन्न भएको कोरोना भाइरसको महामारीले युरोप, अमेरिका, अफ्रिका, अस्टे«लिया, जापान, कोरिया, मलेसिया, कतार, भारत, भुटान हुँदै नेपाल प्रवेशको तयारीमा रहेको अनुमान लगाइएको छ। नेपालमा यो कहिलेदेखि फैलिन्छ, त्यसको अनुमान कसैले गर्न सक्दैन।
विश्वव्यापी रुपमा फैलिँदै गएको महामारी नेपालमा फैलिन्छ कि नेपाल त्यसबाट जोगिन्छ? अहिलेको अवस्थामा यो कसैले अनुमान गर्नसक्ने विषय होइन। नेपाल जस्तो निर्धन राष्ट्रका लागि कोरोना जति घातक र झन् ठूलो खतरा अर्को हुनै सक्दैन।
नेपाल सरकारको दावीअनुसार सरकार अहिले कोरोना महामारी विरुद्ध ब्यूह रचनामा लागेको छ। कोरोना महामारीबाट ‘बच्ने’ उपायहरुको संरचना तयार गर्दैछ। जस्तोः सदर टुँडिखेल, काठमाडौंमा आइसोलेसन क्याम्प खडा गरेको छ। सरकारले आफ्नै स्रोतमा विभिन्न अस्पतालहरुलाई सम्पन्न तुल्याउँदैछ। सरकारको आफनै समझले वा आफैंले वा कसैको सुझाव मानेर कोरोना महामारीबाट जनतालाई सुरक्षित तुल्याउने प्रयत्न गर्छ भने त्यसलाई नराम्रो मान्न सकिँदैन।
महामारीविरुद्ध सरकारले गरेको ‘प्रबन्ध’ र प्रचारलाई हेर्दा यस्तो लाग्छ, नेपाली भूमिमा कोरोनाका किटाणु प्रत्येक नेपालीको पैताला प्वाल पारेर पिठ्यूँमा प्रवेश गर्न लालयित छन्। ती तम्तयार बसेका छन्। सरकारले महामारीका जोखिमका रुपमा रहेका ती किटाणु विरुद्ध देशलाई नै ‘लकडाउन’ गर्ने निर्णय लिएको छ। लक डाउनको समयमा अत्यावश्यक बाहेकका अन्य सेवा देशमा उपलब्ध हुने छैनन्।
आजैदेखि सबै अन्तर्राष्ट्रिय उडान बन्द गरिएका छन्। मिर्गौला प्रत्यारोपणपछि आराम गरिरहेका प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली आफैं टेलिभिजनको पर्दामा देखा परेर चैत ९ गतेदेखि १८ गतेसम्म सबै अन्तर्राष्ट्रिय विमानको आवागमन स्थगित गरिएको बताएका छन्। भोलि सोमबारदेखि लामा दूरीका सार्वजनिक यातायात बन्द गरिनेछन्। सरकारका हिसाबमा यसो गरिनु उसको बाध्यता हो। कोरोना भाइरसको महामारीबाट जनताको ज्यान जोगाउनु सरकारको कर्तव्य हो। कुनै पनि हालतमा सरकार आफ्नो यस कर्तव्यबाट चुक्न चाहँदैन। अहिले चुस्त-दुरुस्त पारिएको सुरक्षात्मक स्वास्थ्य व्यवस्था यसैको परिणाम हो।
तर, यी प्रबन्धहरुका लागि सरकारको तारिफ गर्दागर्दै यति भन्नै पर्छ कि सरकारी प्रबन्ध दोषरहित छैन। सरकारले देखाएको यो तदारुकताको अन्य अर्थ पनि लाग्छन्।
एकथरी जानकार मानिसका अनुसार नेपालमा कोरोना भाइरसको संक्रमण भइसकेको छ। सरकारले जानीबुझी यो सूचना लुकाएको छ। कोरोना भाइरस संक्रमणसम्बन्धी सूचनाको प्रचार–प्रसारले जनतामा मच्चिने भागदौड, हाहाकार, व्यवस्थापन गर्न नसकिने हिसाबले ब्यग्र हुने जनमतको सम्भावनालाई इन्कार गर्न सकिँदैन। त्यो सम्भावित दुर्घटनाको व्यवस्थापन गर्न सरकारले संक्रमितहरुका बारे सही सूचना प्रसार नगरेको हो।
देश गणतान्त्रिक व्यवस्थामा गए पनि जनताका लोकतान्त्रिक अधिकारमाथि वर्तमान सरकारको हस्तक्षेप बढ्ने क्रममा छ। सरकारले थापेको लोभ–पापको पासोमा परेर स्वतन्त्र प्रेसका पांग्राहरु पन्चट भइरहेका घटना हाम्रै अगाडि छन्। सरकारले नेपालको प्रेस कानुनमा आफ्नो बलियो पकड बनाएको छ। यति हुँदाहुँदै पनि सरकार जसरी प्रेसमाथि नियन्त्रणात्मक दबाब दिन सक्षम देखिएको छ, त्यसरी नै साइबर क्राइम नियन्त्रण गर्ने मामिलामा लाचार रहेको छ।
अहिले कोरोनाका बारेमा सामाजिक सञ्जालमा जेजति हल्ला फैैलिएका छन्, ती सबै जनतालाई आतंकित तुल्याउन प्रयोग भएका छन्। हल्लाखोरहरुले युनिसेफदेखि विश्व स्वास्थ्य संगठनसम्मको नाम र लोगोको दुरुपयोग गरेर जनताको मनमा भयको बाजा बजाएका छन्। साइबर संसारमार्फत बजारमा चलेको एउटा हल्ला यस्तो छ, ‘अस्पतालमा ९ जनाको परीक्षण गर्दा ६ जनामा कोरोनाको जीवाणु देखियो रे।’ निश्चय पनि, सरकारले यस्ता हल्लाको खण्डन गर्नु वा प्रतिक्रिया दिनु मुनासिव छैन। सरकार हल्लाको पछाडि दौडिनु हुँदैन। तर हल्ला रोक्ने दृढ मनस्थिति हुनुपर्छ सरकारका सुरक्षाकर्मीमा।
देशमा साइबर अपराध नियन्त्रणको जिम्मा नेपाल प्रहरीमाथि छ। के नेपाल प्रहरीले साइबर कानुनको दुरुपयोग रोक्न कुनै प्रभावकारी कदम उठाएको छ? त्यस्तो देखिएको छैन। साइबर पोखरीका धेरैथरी साइबर जलचर नियन्त्रण गर्ने क्षमताको विकास भइसकेको छैन नेपाल प्रहरीको। साइबरका माध्यमले चलाइने हल्ला रोक्ने खुबी संसारका खुफिया तन्त्रसँग भएको भए कोरोना जटिल समस्या हुने थिएन।
नेपालको सन्दर्भमा कोरोना महामारीपीडित व्यक्ति अस्पताल पुगेको र अस्पतालका चिकित्सकहरुले सरकारको निर्देशनमा यस्ता पीडित व्यक्तिहरुको पहिचान लुकाएको गुनासो धेरै सुनिएको छ। अर्कोतिर, महामारीग्रस्त चीनबाट आएका केही चीनियाँलाई सरकारी संरक्षणमा लुकाइएको गुनासोको संख्या पनि धेरै रहेको सुनिएको छ। सत्य यही हो, सरकार सत्यको मुखातीव हुन तयार छैन।
यतिबेला म प्रदेश नम्बर दुईको रमाइलो सहर लहानमा छु। सोमबार म जनकपुरका लागि हिँडदासम्म काठमाडौंलाई कोरोना आँधीले लपेटेको थिएन। अहिले लाहानमा कोरोनाको भय भित्रिएको छ। मानिसहरु मास्कको खोजीमा लागेका छन्। आपूmले नलगाए पनि स्कुल जाने दिन बच्चाका लागि मास्क अनिवार्य छ। सरकारले कोरोना महामारीलाई सन्दर्भमा राखेर अकस्मात गरेको लक डाउनको घोषणाले जनता रनभुल्लमा परेका छन्। उनीहरु सोध्छन्– देशमा हुने-नहुने यो के भइरहेको छ दाजु? के कारणले हो लक डाउन गरिएको?’
मसँग यो प्रश्नको जवाफ छैन। के भइरहेको छ? यही प्रश्नको जवाफको खोजीमा म पूर्व र पश्चिम दिशामा भौंतारिइरहेको छु। यतिबेला लाहान चौराहामा स्थापित मधेश आन्दोलनका सहिदको प्रतिमा अगाडिको भूमिमा उभिएको छु। यो वर्ष आँपको उत्पादन पोहोर–परारको भन्दा तीन गुना बढी हुने सम्भावना छ। देशमा लक डाउनको अवस्था लम्बियो भने अहिले नै तन्नम भएका गरिब किसानहरुको बेहाल हुनेछ।
सरकारले काठमाडौं सहर जोगाउन निकै परिश्रम गरेको छ। तर के सरकारलाई विभिन्न प्रदेशमा बस्ने सामान्य नेपालीको अवस्थाको जानकारी छ? किन जनता आफैंले चुनेको सरकारको आवाजसँग डराउने गर्छन? किन जनता देशको अवस्था कहिल्यै नसुध्रिएको देखेर विचलित हुन थालेका छन्? यस्तो त कहिल्यै देखिएको थिएन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।