काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थतन्त्रमा कोरोनाले पार्ने प्रभावबारे अर्थ मन्त्रालयले अध्ययन गरिरहेको बताएका छन्। बिहीबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोनाले मुलुकको अर्थतन्त्रमा पार्ने प्रभावबारे अध्ययन भइरहेको बताएका हुन्।
अर्थ व्यवस्थामा परेको र पर्न सक्ने प्रभावको विश्लेषण गरी अर्थतन्त्रमा संकुचन आउन नदिन सरकारले छिट्टै विशेष कार्यक्रम ल्याउने उनले बताए। प्रधानमन्त्री ओलीले उद्यमी, व्यवसायी र श्रमिकको सुरक्षाका लागि सरकारले काम गर्ने पनि उल्लेख गरे।
यसैगरी सार्क राष्ट्रहरुले स्थापना गरेको कोरोना नियन्त्रण कोषमा १० करोड रुपैयाँ दिने घोषणा पनि प्रधानमन्त्री ओलीले गरेका छन्।
प्रधानमन्त्री ओलीले अत्यावश्यक वस्तुको अधिक सञ्चय नगर्न पनि आग्रह गरेका छन्। उनले हल्लाबाट आतंकित नभइ सजग हुन पनि आग्रह गरे। 'यस अफ्ठ्यारो घडीमा सबैले जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्नुहुन्छ भन्ने मैले विश्वास गरेको छु,' प्रधानमन्त्री ओलीले भने।
प्रधानमन्त्री ओलीले विद्युतीय सेवाबाट दिन सकिने सेवा घरबाटै दिन आग्रह गरेका छन्।
निजी क्षेत्रसमेतको सहयोगमा अत्यावश्यक वस्तुको नियमित आपूर्तिको व्यवस्था मिलाइएको पनि बताए। उनले खाद्यान्नको कालोबजारी र मिसावटमा कोही संलग्न भए कडा कारबाही गर्ने पनि बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।