नयाँ दिल्ली- भारतमा कोराेना भाइरस संक्रमित बिरामीको संख्यामा वृद्धि भइरहेको छ। विश्वभर एक लाख ८२ हजारभन्दा धेरै मानिसमा फैलिरहेको यो भाइरसको संक्रमण भारतमा १३७ जनामा पुष्टि भएको छ।
मंगलबारसम्म काेराेना संक्रमितकाे संख्या १२८ रहेको भारतमा थप ९ जनामा संक्रमण देखिएकाे हाे। काेराेनाका कारण भारतमा हालसम्म तीन जनाको मृत्यु भएको छ।
पश्चिम बंगालमा पहिलो बिरामी
भारतको पश्चिम बंगालमा कोरोना भाइरसको पहिलो बिरामी फेला परेको छ। आला स्वास्थ्य अधिकारीका अनुसार कोलकत्तामा १८ वर्षको एक युवामा कोरोना भाइरस पोजेटिभ देखिएको हो। ती युवा बेलायतबाट हालैमात्र भारत आएको थिए।
उनकाे परीक्षणमा पोजेटिभ रिपाेर्ट आएको स्वास्थ्य विभागले जनाएको छ। पहिलो बिरामीको मृत्यु दिल्लीमा भएको थियो भने त्यसपछि कर्नाटक र मुम्बइमा भएको हो।
एयर इन्डियाको उडान स्थगित
एयर इन्डियाले मंगलबारदेखि सम्पूर्ण उडान स्थगित गरेको छ। एयर इन्डियाले मंगलबार १९ मार्चदेखि ३१ मार्चसम्मका युरोप र बेलायतका सबै उडान निलम्बन गरेको हो।
उसले इयुका सबै देशमा उडान बन्द गर्ने निर्णय गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ।
७१ रेल रद्द
कोरोना भाइरसको त्रासका कारण मंगलबार बेलुकासम्म ७१ वटा रेल सेवा रद्द भएकाे छ। मुम्बइमा ३१ मार्चसम्म सबै डान्सबार, पब र अन्य भेला हुने कार्यक्रमहरु बन्द गरिएको राज्य सरकारले जनाएको छ।
मुख्यमन्त्री उद्धव ठाकरेले मुम्बइमा सार्वजनिक यातायात भने चालु रहेने बताए। उनले सरकारी कार्यालयहरु पनि खुला रहने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।