काठमाडौं– टिपरको ठक्करबाट दुई जनाको मृत्य भएपछि तनावग्रस्त बनेको काभ्रेकाे पनौती बजारमा कर्फ्यू आदेश जारी भएकाे छ। जिल्ला प्रशासन कार्यालय काभ्रेले पनौती बजारलाई चार किल्ला तोकी कर्फ्यू लगाएको हाे।
काभ्रेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले मंगलबार बिहान ९ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यू लगाइएको जानकारी दिए। सोमबार साँझ बनेपाबाट पनौतीतर्फ जाँदै गरेको बा ५ ख ५४८० नम्बरको टिपरको ठक्करबाट पनौती नगरपालिका–५ पनौती मानेश्वरी बसपार्कमा खानीखोला गाउँपालिका–१ की २६ वर्षीया जुनीमाया गोले र उनकी ३ वर्षीया छोरी स्मारिकाको मृत्यु भएको थियो।
त्यसपछि आक्रोशित स्थानीयले सडक अवरुद्ध गर्दै आन्दोलन गरेका थिए। स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास र हवाई फायरसमेत गर्नु परेको थियो। सो क्रममा एक प्रहरी हवल्दार र आन्दोलनकारीसहित ५ जना घाइते भएका थिए। आज पनि पुनः पनौती बजार तनावग्रस्त बनेपछि प्रशासनले कर्फ्यू लगाएकाे हाे।
यसैबीच मृतका आफन्तले प्रहरीमा जाहेरी दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।