तनहुँ : चितुवाको आक्रमणबाट तनहुँको शुक्लागण्डकी नगरपालिका–३ बनकेवामा एक बालिका घाइते भएकी छन्। घाइते हुनेमा सोही ठाउँ बस्ने नारायण न्यौपानेका २१ महिनाकी छोरी संस्कृति न्यौपाने रहेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ।
सोमबार साँझ घरमा बसिरहेको अवस्थामा चितुवाले बालिकालाई आक्रमण गरेको सो कार्यालयका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए। घरमै रहेका बुबाआमाले होहल्ला गरेपछि चितुवा भागेको थियो। 'छोरीलाई बाहिर राखेर एकैछिन घरभित्र पस्दा चितुवाले आक्रमण गर्न भ्याएको रहेछ,' प्रहरी निरीक्षक रेग्मीले भभने, 'होहल्लापछि थप घटना हुन पाएन।'
आक्रमणबाट बालिकाको पेटमा सामान्य चोट लागेको छ। उनलाई दुलेगौडास्थित तनहुँ सेवा अस्पतालमा प्राथमिक उपचारपश्चात थप उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल लगिएको छ। गत फागुन २८ गते मात्रै चितुवाको आक्रमणबाट बन्दीपुर गाउँपालिका–५ याम्पामा सात वर्षीय अनुप नेपाली घाइते भएका थिए।
जिल्ला चितुवाको आक्रमण बढ्दै जाँदा स्थानीयवासी त्रसित छन्। भानु नगरपालिका, शुक्लागण्डकी नगरपालिका, आँबुखैरेनी गाउँपालिका र बन्दीपुर गाउँपालिकामा चितुवाको आतङ्क छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।