काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटाले एमसिसीको सन्दर्भमा उनले पार्टीभित्र बहस भइरहेको बताएका छन्।
सोमबार सिंहदरबारमा पत्रकारहरुसँगको छलफलमा उनले बेला आएपछि एमसिसी पारित हुने बताए। 'मैले त सहजीकरण गर्ने न हो', उनले भने।
'मैले सत्तारुढ पार्टी, दलका नेता, प्रमुख सचेतक, सचेतक सबैको सहमतिले एजेन्डा अगाडि बढाउने कुरा हो। सबैतिर छलफल हुँदैछ', सभामुख सापकोटाले भने, 'सत्तारुढ पार्टीमा झन् छलफल हुँदैछ।'
उनले अहिलेसम्म एमसिसी बहसमै रहेको बताए। 'अहिले कोरोनाको कारणले बहस यता केन्द्रित भए पनि एमसिसी पनि बहसमै छ', उनले भने।
उपसभामुखबारे सत्तारुढ दल छलफलमा
रिक्त उपसभामुखका सन्दर्भमा सत्तारुढ दल छलफलमा रहेको सभामुखले बताए। 'यस सम्बन्धमा सत्तारुढ पार्टीको उपनेतासित कुरा गर्दा हाम्रै जिम्मेवारीको कुरा भएकाले हामी छलफल गर्दैछौं। त्यसले निष्कर्ष पाउनेबित्तिकै खबर गर्छौं, त्यसपछि निर्वाचन कार्यतालिका सार्वजनिक गर्नुहोला भन्नुहुन्थ्यो', उनले भने।
सापकोटाले उपसभामुखका बारेमा दलहरुका बीचमा समझदारी भइसकेपछि निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने भूमिका आफ्नो रहने स्पष्ट पारे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।