काठमाडौं- भारत सरकारले आगामी अप्रिल १ देखि भारत स्ट्यान्डर्ड ६ (बिएस–६)का सवारीमात्र दर्ता गर्ने निर्णय गरेको छ। तर, सवारी उत्पादक तथा बिक्रेताहरुको संस्था समय बढाउन माग गर्दै भारतको सर्वोच्च अदालत जाने भएकाे छ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भइरस (कोभिड- १९)का कारण बिएस–४ का सवारी दर्ता नसकिएको भन्दै उनीहरु दर्ताको समय बढाउन माग गर्दै अदालत जाने तयारीमा रहेको द इकोनोमिक टाइम्सले लेखेको छ। नियमित रुपमै बिएस ४ को स्टक नसकिने अवस्था रहेकोमा कोरोना भाइरसको प्रत्यक्ष प्रभाव परेकाले आफूहरु सर्वोच्च जान लागको सवारी उत्पादकहरुको भनाइ छ। भारतमा फेब्रुअरी तथा मार्चमा सवारी दर्ता धेरै वर्ष यताकै निक्कै नाजुक अवस्थामा रहेको उद्योगीहरुको भनाइ छ।
बिएस ४ को सवारी दर्ता गरिसक्ने समय अब २ सातामात्र बाँकी रहेको छ। सवारी उत्पादकहरुको संस्था सोसाइटी अफ इन्डियन अटोमोबाइल म्यानुफ्याक्चरर्स (एसआइएएम) र फेडेरेसन अफ अटोमोटिभ डिलर (फाडा) छुट्टाछुट्टै रुपमा अदालत जाने भएका हुन्। दुवै संस्थाले बिएस ४ को सवारी दर्ता गर्ने मार्च ३१ सम्मको समयसीमा केही बढाइदिन आग्रह गर्ने छन्।
‘बिएस ४ इन्जिनयुक्त सवारीको स्टक धेरै बाँकी रहेको र कोरोनाको प्रभावले त्यो झनै बढेकाले हामी दर्ताको समय बढाउन आग्रह गर्दै सर्वोच्च जान लागेका हौं,’ फाडाका उपाध्यक्ष भंकेश गृलाटीले भने, ‘चारपांग्रे बिएस ४ को स्टक केही उत्पादकको बाहेक व्यवस्थापन गर्न सकिने अवस्था रहेपनि अन्यको स्टक धेरै रहेको छ।’ एसआइएएमले आफ्ना सदस्य सवारी उत्पादकसँग समन्वय गरेर अर्को कदम चाल्ने बताएको छ। भारतमा पनि सयौं मानिसमा कोरोना देखिइ सकेको छ।
कोरोनाका कारण अर्थतन्त्र नै प्रभावित भएकाले सवारी उत्पादकले उठाएको मुद्दा महत्त्वपूर्ण भएकाले सकारात्मक नतिजा आउने अपेक्षा आफूहरुले गरेको एसआइएएमका अध्यक्ष राजन वाधरेको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।