विराटनगर- प्रदेश १ काे प्रदेश सभामा बोल्ने सांसदहरुले जनताको स्वास्थ्यमा क्षेत्रमा खेलबाड भइरहेको भन्दै सरकारको ध्याआकर्षण गराएका छन्। प्रदेश सभाकाे आइतबारकाे बैठकमा शून्य समयमा बोल्दै सांसद राजन राईले जनताको जनधनको सुरक्षाको ग्यारेन्टी सरकारको जिम्मेवारी भएको बताए।
राईले हाल कोरोना भाइरस संक्रमण विश्वभर फैलिरहेका बेला संघीय सरकार स्वास्थ्य मन्त्रीले जनताले आफ्नो सुरक्षा आफैं गर्नु भनेर जिम्मेवारीबाट पन्छिन खोजेको आरोप लगाए। रेल र पानी जहाजमा बजेट विनियोजन भइसकेको स्मरण गराउँदै उनले जनताको स्वास्थ्यकाे जिम्मा लिन सरकारलाई आग्रह गरे।
नेकपाका सांसद गोपालचन्द्र बुढाथोकीले कोरोना भाइरसको विषयमा सरकारले खेलाची गरिरहेको बताए। यस्तो बेला जागरण कार्यक्रम ल्याउनुपर्ने र पर्यटक आवागमन ठप्प पार्नुपर्ने उनकाे भनाइ छ। नेकपा संसदीय दलको तर्फबाट विशेष समयमा बोल्दै उनले काकडभिट्टा नाकाबाट दैनिक हजारौं मान्छेको आवातजावत भइरहेकोले त्यसलाई नियन्त्रण गर्न सरकारसँग माग गरे।
'दुईजना मान्छे थर्मलगनबाट ज्वरो नाप्छन्। त्यो पनि डराउँदै त्रसित अवस्थामा बसीरहेका छन्,' उनले भने, 'हजारौं मान्छे आउजाउ गर्ने ठाउँमा एउटा पनि दक्ष जनशक्ति छैन। भरपर्दाे एम्बुलेन्स छैन, त्यसको व्यवस्था कसले गर्ने? आइसोलेसन वार्डको व्यवस्था छैन। जनताको स्वास्थ्यको जिम्मा सरकारको दायीत्व हो। सरकारले यसको जिम्मा लिनुपर्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।