काठमाडौं- प्रहरीले कपनबाट करिब डेढ लाख मेडिकल मास्क बरामद गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले उक्त मास्क बरामद गरेको हो। कालोबजारी गरेर महँगो मूल्यमा बेच्न लागिएको भन्ने सूचनाका आधारमा छापा मारेर उक्त मास्क बरामद गरिएको परिसर काठमाडौंका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए।
मास्कसहित ६ जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले शनिबार मात्रै विभिन्न ठाउँमा छापा मारेर ७८ हजार मास्कसहित ८ जनालाई पक्राउ गरेको थियो।
कोरोना भाइरसको महामारीले विश्वव्यापी रुप लिन थालेपछि मास्कको माग बढेको तर व्यापारीहरुले लुकाएर महँगो मूल्यमा मास्क बेच्दै आएका छन्। प्रहरीले कालोबजारी गर्ने विरुद्ध कारबाही प्रक्रिया सुरु गरिसकेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।