काठमाडौं– मास्कको कालोबजारी गरेको आरोपमा प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न पसलहरुमा छापा मारेर आठ जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौं, वृत्त बानेश्वर र स्यवम्भूबाट खटिएको टोलीले शनिबार ८ पसलेलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा काभ्रे घर भई स्वयम्भूमा पसल सञ्चालन गर्दै आएका मिन्टु तामाङ, सातदोबाटोमा पसल सञ्चालन गर्ने मानकाजी लामा, सानो भर्याङबाट अनिष कार्की, एकान्तकुनाबाट थुमराज उपाध्याय, कोटेश्वरबाट निर्प कार्की, सानो भर्याङबाट उज्जवल अधिकारी, पाटनबाट शिव खड्का र स्वयम्भूबाट निशान तामाङलाई पक्राउ गरिएको काठमाडौं परिसरका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए।
उनीहरुले सञ्चालन गरेका औषधि पसल तथा अन्य पसलमा छापा मारेर ७८ हजार थान मास्क बारमद गरिएको प्रहरीले जनाएको छ। उनीहरुले मास्क लुकाएर बढी मूल्यमा बिक्री गर्दै आएको भन्ने सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो। सो क्रममा ठूलो संख्यामा मास्क बरामद भएको थियो।
बरामद मास्कको मूल्य ५ लाख भए पनि उनीहरुले ३१ लाख रुपैयाँ मूख्य राखेर बेच्न लागेको पाइएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।