काठमाडौं- कोरोना भाइरस (कोभिड-१९) को संक्रमणले विश्वव्यापी संकटको रुप लिइरहेका बेला सार्क राष्ट्रहरूको भिडियो कन्फेन्स आइतबार साँझ सवा ५ मा हुने भएको छ। कोरोना भाइरसको जोखिम न्यूनीकरणमा सार्क राष्ट्रहरू एकजुट भएको सन्देश दिन भिडियो कन्फ्रेन्स आयोजना गर्न लागिएको हो।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दक्षिण एसियाली सहयोग संगठन (सार्क) सम्झिएका हुन्। मोदीले शुक्रबार ट्विट गर्दै कोरोना भाइरसविरुद्ध लड्न सार्क देशका नेताहरुले एक बलियो रणनीति बनाउनु पर्ने प्रस्ताव गरेका थिए। उनले यसबारे भिडियो कन्फ्रेन्समार्फत् कुरा गर्न सकिने बताएका थिए।
‘सार्क देशका नेतृत्वले कोरोना भाइरसविरुद्ध एक बलियो रणनीति बनाउने प्रस्ताव म गर्न चाहन्छु,’ मोदीले भनेका छन्, ‘हामी हाम्रा नागरिक स्वस्थ राख्न भिडियो कन्फ्रेन्समार्फत् छलफल गर्न सक्छौं। हामी एकसाथ दुनियाँका लागि एक उदारण बन्न सक्छौं र स्वस्थ ग्रह निर्माणमा योगदान गर्न सक्छौं।’
नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले यसको स्वागत गरेका थिए। ट्वीटमार्फत् मोदीलाई जवाफ फर्काउँदै ओलीले कोरोना भाइरसविरुद्ध लड्न सार्क सदस्य राष्ट्रहरुसँग मिलेर काम गर्न तयार रहेको बताएका थिए। नेपाल सार्कको अध्यक्ष राष्ट्र हो।
‘कोरोना भाइरसविरुद्ध लड्न सार्क देशका नेतृत्वले एउटा बलियो रणनीति बनाउनुपर्छ भन्ने प्रधानमन्त्री मोदीजीको उन्नत विचारको म स्वागत गर्छु,’ ओलीले भनेका थिए, ‘मेरो सरकार हाम्रा नागरिकलाई यो घातक रोगबाट बचाउनका लागि सार्क सदस्य देशहरुसँग मिलेर काम गर्न तयार छ।’
मोदीको प्रस्तावलाई सार्क क्षेत्रका अन्य देशका राष्ट्र तथा सरकार प्रमुखले पनि स्वागत गरेका थिए।
सन् १९८५ डिसेम्बर ८ मा स्थापना भएको सार्कमा नेपाल, पाकिस्तान, बङ्गलादेश, भारत, भुटान, माल्दिभ्स, श्रीलंका र अफगानिस्तान छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।