फाइल तस्बिर
काठमाडौं-बिमा व्यवसाय हो वा सेवा हो भन्ने विषयमा संसदको अर्थ समितिमा अर्थमन्त्री र सांसद प्रेम सुवालबीच जुहारी चलेको छ। बिमासम्बन्धी कानुनलाई संशोधन गर्न र एकीकरण गर्ने बनेको विधेयकको दफावार छलफलका क्रममा अर्थमन्त्री डा युवराज खतिवडा र सुवालको मत बाझिएको हो।
सुवालले बिमा राज्यले नै सञ्चालन गर्नु पर्ने भन्दै ऐन नै आवश्यक नरहेको बताएका थिए। प्रस्तावनाका विषयमा उनले पेलेर नजानका लागि समेत चेतावनी दिए। उनले बैठकमा भने, 'बिमा व्यवसाय हैन। कसैले व्यवसाय मान्न तयार छैन। व्यवसाय गर्न उत्पादन, बिक्री वितरण आवस्यक पर्छ।'
उनलाई जवाफ दिँदै खतिवडाले बिमालाई व्यवसाय हैन भन्न मिल्दैन भन्दै जवाफ दिए। यसै क्रममा अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले बिमा व्यवसाय त हो तर सेवा सहितको व्यवसाय हाे भन्ने प्रतिक्रिया दिए।
अर्थमन्त्री र सभापतिको जवाफपछि सुवालले बिमा व्यवसाय भन्ने परिभाषा गर्नेलाई पिएचडी अवार्ड दिइयोस् भन्दै जवाफ फर्काएका थिए। 'अर्थशास्त्री बोलाएर छलफल गरियोस, बिमा व्यवसाय हैन' भन्दै अडान राखे।
सवाल जवाफका क्रममा मन्त्री खतिवडाले भने, 'जतिसुकै अर्थशास्त्री बोलाए पनि बिमा व्यवसाय नै हो। संशोधन गर्नु पर्छ भन्ने सरकार ठान्दैन।' खतिवडाको जवाफपछि सुवालले यसरी पेलेर मनपरी कानुन नल्याइयोस् भन्दै चेतावनी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।