काठमाडाै– कांग्रेस सभापति शेरबहादुर देउवाले पश्चिम नवलपरासीका कार्यवाहक सभापति अर्जुन पोखरेललाई हटाएकोप्रति वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आपत्ति जनाएको छ।
पौडेल पक्षका नेताहरुको बैठकले उक्त विषयमा सभापतिसँग कुरा गर्ने जिम्मा महामन्त्री डा शशाङ्क कोइरालालाई दिएको छ। सभापति देउवाले नवलपरासी कार्यवाहक सभापतिलाई हटाएर आफूनिकट विष्णु पौडेललाई जिम्मेवारी दिएका थिए।
देउवाको उक्त कदमका विषयमा छलफल गर्न केन्द्रीय कार्यालयमा बैठक बसेको थियो। केन्द्रीय सदस्य धनराज गुरुङले निर्णय सच्याउने गरी सभापतिसँग कुरा गर्ने जिम्मा महामन्त्री कोइरालालाई दिएको बताए। उनले भने, ‘सभापतिलाई भेटेर वा पत्र दिएर निर्णय सच्याउन माग गर्न महामन्त्रीलाई अधिकार दिइएको छ।’
सभापति देउवाले महामन्त्रीनिकट जिल्ला सभापति हटाएर आफू नजिकका पौडेललाई कार्यवाहक जिल्ला सभापति बनाएका थिए।
महाधिवेशन प्रतिनिधि नभएको व्यक्ति सभापति हुन नसक्ने विधानअनुसार कार्यवाहक जिल्ला सभापति हटाइएको संस्थापन पक्षले जनाएको छ। तर कार्यवाहक जिल्ला सभापतिको हकमा महाधिवेशन प्रतिनिधि हुनुपर्ने विधानमा व्यवस्था नभएको पौडेल पक्षको दाबी छ।
आजको बैठकमा दर्जन बढी पौडेल पक्षका नेताहरु सहभागी भएका थिए। सभापतिले गरेका मनोनयनका विषयमा भने छलफल हुन नसकेको नेता दिलेन्द्र बडुले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।