काठमाडौं- राप्रपा र राप्रपा संयुक्तको एकतामा कुनै शक्तिको दबाब र प्रभाव नभएको कमल थापाले बताएका छन्। बुधबार पार्टी एकता घोषणासभामा सम्बोधन गर्दै थापाले एकतामा स्वदेशी विदेशी शक्तिको दबाब र प्रभावमा एकता भएको भन्ने चर्चालाई नकारेका हुन्।
'यो एकता कसैको दबाब र प्रभावमा परेर भएको होइन। यो कुनै स्वदेशी विदेशी शक्तिको दबाब र प्रभावमा परेर एकता भएको होइन। यो विशुद्ध पार्टीलाई माया गर्ने कार्यकर्ता सहयोगी शुभचिन्तकहरुको दबाब र प्रेरणाको प्रभाव हो। त्यसको परिणाम र साथसाथै देशको वर्तमान अवस्थाले हामीलाई यो एकताको बिन्दुमा पुग्नका निम्ति प्रेरित गरेको हो', थापाले भने।
थापाले जनताले विकल्प खोजिरहेको भन्दै त्यो विकल्प निर्माण गर्ने क्रममा एकता भएको बताए।
'वास्तवमा पार्टी एकताबाट देशले अब एउटा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति र विकल्प प्राप्त गरेको छ', उनले भने। एकता सभामा उनले अन्य दुई अध्यक्ष पशुपति शमशेर राणा र प्रकाशचन्द्र लोहनीको प्रशंसा गरे। उनले आफ्नो बोझ कम भएको बताए।
'मेरो बोझ पनि घटेको छ। विगतमा अध्यक्ष भएर बोक्नुपरेको भार दुई वरिष्ठ काँधसँग सेयर गर्ने मौका पाएको छु। यो जिम्मेवारी बोक्न तयार भएकोमा पशुपति शमशेर राणा र प्रकाशचन्द्र लोहनीप्रति आभार व्यक्त गर्दछु', उनले भने। अध्यक्षद्वयको स्टामिनाबाट सबैले प्रेरणा लिनुपर्ने बताए।
'पाँच दशकदेखि राजनीतिमा क्रियाशील हुनुहुन्छ। तर कत्ति पनि थकान नमानीकन नयाँ परिस्थितिमा नयाँ जिम्मेवारीलाई बोकेर हिँड्न तयार हुनुभएको छ। यसभन्दा खुसी हामीलाई के हुन्छ', उनले भने, 'थकानको बाबजुद दुई अध्यक्षमा जुन स्टामिना र इनर्जी मैले देखेको छु, त्यो मेरो लागि पनि लोभलाग्दो छ। उहाँहरुको स्टामिना र इनर्जीको प्रशंसा गर्दै यसलाई हामीले सबैले प्रेरणाको रुपमा लिएर अघि बढौं भन्ने म सम्पूर्ण साथीहरुलाई आग्रह गर्न चाहन्छु।'
उनले आफूहरु अब कहिल्यै नफुट्ने नछुट्ने र नअग्गिने संकल्पका साथ एकतामा जोडिएको बताए।
'राप्रपाको इतिहासमा आजको दिन सदा अविष्मरणी कोसे ढुंगाको रुपमा रहनेछ। राष्ट्रियता र प्रजातन्त्रप्रति कटिबद्ध भई देश बचाउने र बनाउने अभियानमा हिँडेका सम्पूर्ण राप्रपा परिवार आज पुनः एकताबद्ध भएका छौं', उनले भने, 'र, साथसाथै अब फेरि कहिल्यै नफुट्ने‚ नछुट्ने र नअलग्गिने संकल्पका साथ एकीकृत भएका छौं।'
उनले आफू निर्वाचित भएको महाधिवेशनले दिएको समयावधि नसकिँदै पार्टी एकता गर्न सकेकोमा खुसी व्यक्त गरे।
'व्यक्तिगत रुपमा यो एकताबाट म एकदमै सन्तुष्ट र खुसी छु। २०७३ साल फागुनमा भएको ऐतिहासिक महाधिवेशनमा साथीहरुले मलाई केन्द्रीय अध्यक्षमा निर्वाचित गर्नुभयो। तर ६ महिना नपुग्दै हामीले पार्टी विभाजनको पीडा भोग्नुपर्यो', उनले भने, 'म खुसी छु किनकि मेरो चार वर्षे कार्यकाल नपुग्दै फेरि राप्रपालाई एकताबद्ध बनाउन हामी सफल भएका छौं। पार्टी विभाजन भएको दिनदेखि मैले महसुस गरेको पीडा शब्दमा व्यक्त गर्न सक्दिनँ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।