काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरको बैठक बोलाइएको छ। पार्टी सभापति शेरबहादुर देउवाले विभाग तथा आमन्त्रित केन्द्रीय सदस्यमा एकतर्फी निर्णय गरेपछि नेता पौडेल पक्षको बैठक बस्न लागेका हो।
पार्टी सभापति देउवाको निर्णयको विरोध गर्दै आएको पौडेल पक्षको बैठक पार्टी केन्द्रीय कार्यालयमा बोलाइएको छ। बैठक दिउँसो १ बजेपछि नेता पौडेलको कार्यकक्षमा बस्ने बताइएको छ।
पौडेल पक्षको विरोधकै बीच सभापतिले दुई चरण गरी २० विभागमा मनोनयन गरेका छन्। विधानमा २८ विभाग प्रावधान रहेपनि देउवाले ४७ विभाग हुने गरी केन्द्रीय समिति बैठकमा पेश गरेका छन्। पौडेल पक्षले बढाइएको संख्या र मनोनयनप्रति आपत्ति जनाएको छ।
नवलपरासी पश्चिमको जिल्ला सभापतिलाई हटाएर देउवा पक्षीय बनाएपछि पौडेल पक्ष थप चिढिएको छ। कार्यवाहक सभापति अर्जुन पोखरेललाई हटाएर देउवाले विष्णु पौडेललाई जिम्मेवारी दिएका छन्। पोखरेल महामन्त्री डा शशांक कोइराला निकट हुन्। देउवाले आफूपक्षीय जिल्ला नेता पौडेललाई जिम्मेवारी तोकेका छन्।
संघीय संरचना अघि नवलपरासीमा विष्णु लामिछाने जिल्ला सभापति थिए। नवलपरासी दुई जिल्लामा विभाजन गरेपछि लामिछाने नवलपुरका जिल्ला सभापति बनेका छन्।
पौडेल पक्षको आजको बैठकको देउवाले तोकेका पश्चिम नवलपरासी जिल्ला सभापतिका विषयमा समेत छलफल हुने बताइएको छ। पौडेल पक्षको बैठक महामन्त्री कोइरालाको निवासमा मंगलबार पनि बसेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।