काेलम्बाे- श्रीलंकामा प्रचण्ड खडेरीका कारण करिब तीन लाख व्यक्तिको दैनिकी निकै कठिन बनेको राष्ट्रिय विपत व्यवस्थापन केन्द्रले मङ्गलबार जानकारी गराएको छ।
श्रीलंकाको मौसम विज्ञान महाशाखाले आगामी केही हप्तासम्म पानी पर्ने सम्भावना नदेखिएको बताएको छ। अधिकारीहरूले दिएको जानकारीमा यहाँको पश्चिमी प्रान्तका करिब ५३ हजार परिवारमा जारी खडेरीको प्रभाव परेको र यसका कारण यहाँ खाने पानीको समेत अभाव भएको उल्लेख छ।
खडेरीको प्रभाव पश्चिमी प्रान्तबाहेक मध्य दक्षिणी क्षेत्रका उच्च पहाडी भेग कान्डी र रतनपुरा तथा उत्तरपश्चिमी पुट्टालम राज्यमा पनि परेको बताइएको छ। महाशाखाले आगामी केही हप्तासम्म श्रीलंकाका पश्चिमी, उत्तरपश्चिमी र दक्षिणी प्रान्तहरूका ११ जिल्लामा निकै सुख्खा तथा अत्यधिक गर्मी मौसम रहने जनाएको छ।
श्रीलंकाका कतिपय स्थानमा आगामी केही दिनमा तापक्रम ४१ डिग्री सेल्सियससम्म पुग्ने अनुमामन महाशाखाले गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।