काठमाडौं–सरकारले कोरोना संक्रमणबाट बढी प्रभावित पाँच देशबाट पशु तथा पशुजन्य, बिरुवा तथा बिरुवाजन्य तथा खाद्यवस्तुको आयात स्थगित गर्ने निर्णय गरेको छ। आयातका लागि सिफारिस दिन पनि सरकारले रोकेको छ।
कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले यस्तो निर्णय गरेको हो। पशु, खाद्य, तथा प्लान्ट क्वारेन्टाइनका प्रमुखहरुसँगको बैठकपछि कोरोनाबाट अति प्रभावित चीन, दक्षिण कोरिया, इटाली, जापान र इरानबाट आयात गर्न नदिने निर्णय गरिएको हो।
यसअघि नै सरकारले कोरोनाबाट अति प्रभावित ८ मुलुकबाट आउने नागरिकलाई अनअराइभल भिसासमेत नदिने निर्णय गरेको थियो।
यसैगरी, अन्य प्रभावित मुलुकहरुबाट आयात हुने वस्तुहरुको हकमा जोखिम विश्लेषण गरी आवश्यकतानुसार क्वारेन्टाइन गरी सुरक्षित भएपछि मात्र मुलुकभित्र प्रवेश गर्न दिने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ। कोरोना संक्रमित मुलुकहरुबाट आयात इजाजतपत्र नलिइकन आयात गरिएका पशु तथा पशुजन्य, विरुवा तथा विरुवाजन्य तथा खाद्यवस्तुलाई नष्ट गर्नसमेत निर्देशन दिएको छ।
सरकारले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलसहित अन्य क्वारेन्टाइन चेकपोष्टहरुलाई विशेष निगरानी गर्न एवं भन्सार तथा सुरक्षा निकायहरुसँग समन्वयमा कार्य गर्नसमेत निर्देशन दिएको छ।
यसैगरी, पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट तथा निसंक्रमणमा प्रयोग हुने भिर्कोन लगायतका स्प्रेयरको व्यवस्थापन पशु सेवा विभागबाट हुने व्यवस्था मिलाइएको समेत मन्त्रालयले जनाएको छ। पशु क्वारेन्टाइन कार्यालय काकडभिट्टा, विराटनगर, जनकपुर, वीरगञ्ज, काठमाडौं, भैरहवा, नेपालगन्ज तथा गड्डाचौकीलाई समेत निर्देशन दिएको छ।
पशु क्वारेन्टाइन चेकपोष्ट भारतसँग सीमामा २१ वटा, चीनसँग २ वटा, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा र आन्तरिक विमानस्थलमा३ वटा छन्। यसैगरी, सीमा चेकपोष्ट पशुपतिनगर, भद्रपुर, काकडभिट्टा, गौरीगञ्ज, रानी, भन्टाबारी, माडर, जटही, भिट्टामोड, मलंगवा, औरिया, सिरसिया, मटिहा, तातोपानी, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, टिमुरे-रसुवागढी, महेरापुर,बेलहिया, कृष्णनगर, नेपालगन्ज, गुलरिया, गड्डाचौकी, दार्चुला, बेलौरी (आन्तरिक चेकपोष्ट), पथलैया,नागढुङ्गा तथा रामनगर छन्।
यसैगरी प्लान्ट क्वारेन्टाइन चेकपोष्ट काकडभिट्टा, विराटनगर, भैरहवा, नेपालगन्ज, वीरगञ्ज, गड्डाचौकी, भन्टाबारी, मलंगवा, जलेश्वर, टिमुरे, तातोपानी, कृष्णनगर, झुलाधार, लोमानथाङ, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा छन्। साथै खाद्य क्वारेन्टाइन चेकपोष्ट झापा, विराटनगर, महोत्तरी, वीरगञ्ज, तातोपानी, रसुवा, भैरहवा, कृष्णनगर, नेपालगञ्ज, धनगढी, गड्डाचौकी तथा त्रिभुवन विमानस्थललाई समेत उक्त निर्देशन भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।