काठमाडौं- बजार सुधार हुँदा चुप बस्ने लगानीकर्ताले केही दिनदेखि लगातार घट्न थालेपछि संयुक्त प्रेस वक्तव्य जारी गर्दै नियामकको ध्यानाकर्षण गराएका छन्। नेपाल इन्भेष्टर फोरम र शेयर लगानीकर्ता संघले संयुक्त प्रेस वक्तव्य नै जारी गरेका हुन्।
विगत केही दिनदेखि नेप्से अप्रत्यासित रुपमा घटिरहेको भन्दै संघले अत्यन्त चिन्तित र मर्माहित भएको जनाएका छन्। नेपालको समग्र आर्थिक अवस्थामा कुनै खास नकारात्मक परिवर्तनहरु नदेखिएको र शेयर बजारलाई प्रत्यक्ष असर पर्ने कुनै गतिविधिहरु नभएको परिप्रेक्ष्यमा यस गिरावट र बजारप्रति आएको निरासापनले सोच्नुपर्ने अवस्था आइपरेको वक्तव्यमा जनाइएको छ।
कोरोनालगायत अन्य सन्त्रास तथा यससम्बन्धी नकारात्मक अफवाहको पछि नलाग्न लगानीकर्ताका संघ संगठनले जनाएका छन्। संगठनले लगानीकर्ताहरुलाई स्वविवेक प्रयोग गरी शेयर कारोबार गर्न अनुरोध गरेका छन्।
शेयर बजारमा नियामक निकायहरुका सुधारका कार्यक्रमहरु कार्यान्वयन हुँदै गरेको र पुँजीबजारमा कारोबार हुने कम्पनीहरुको नाफामा कुनै नकारात्मक प्रभाव नदेखिएको हुँदा आफूले शेयर कारोबार गर्दा संयमित भएर लगानी गर्न उनीहरुले अनुरोध गरेका छन्।
नियामक निकायहरुले यस्तो प्रवृत्तिको कारण र अवस्थाको बारेमा गम्भीर विश्लेषण गरी त्यसको समाधानका उपायहरु तत्काल कार्यान्वयन गरी पुँजीबजारलाई यथासक्य छिटो सकारात्मक संबोधन गर्ने उनीहरुले माग गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।