राजविराज– विश्वव्यापी रुपमा फैलिएकाे कोरोना भाइरसको त्रास बढेपछि सप्तरीको कञ्चनरुप नगरपालिकाले तत्कालै दुईवटा एम्बुलेसन्स खरिद गर्ने प्रक्रियाअघि बढाएको छ। कोरानाको त्रास बढ्दै गएको र आव २०७६/०७७ को नगरसभाले पनि निर्णय गरिसकेकाले तत्काल एम्बुलेन्स खरिद गर्ने गरी प्रक्रिया सुरु गरिएको मेयर बसन्त मिश्रले बताए।
नगरपालिकाले एम्बुलेन्स खरिदका लागि २५ लाख रुपैयाँ छुट्याएको छ। नगरसभाले एक थान एम्बुलेन्स खरिद गर्ने निर्णय गरेपनि गत मंसिरमा बसेको कार्यपालिका बैठकले २ थान एम्बुलेन्स खरिद गर्ने निर्णय गरेको थियो। कोरोनाका कारण विश्व आतंकित भइरहेका बेला छिमेकी भारतमा पनि संक्रमितको संख्या थपिदै गएपछि एम्बुलेन्स खरिद गर्न प्रक्रियाअघि बढाईएको स्वास्थ्य शाखा संयोजक डम्बर गुप्ताले बताए।
हेल्थ डेस्क स्थापना
कोरोना भाइरसको रोकथाम, प्रारम्भिक परिक्षण र परामर्शका लागि नगरपालिकाले हेल्थ डेस्क स्थापना गरेको छ। प्राथमिक स्वास्थ्य केन्द्र कंचनपुरमा कोरोनाको प्रारम्भिक परिक्षण तथा परामर्श सुरु गरिएको स्वास्थ्य संयोजक गुप्ताले जानकारी दिए।
यस्तै कञ्चनरुप नगरपालिकाकाले कोरोना भाइरसको खतरा तथा यसबाट बच्ने उपायका बारेमा जनचेतना जगाउन तथा मास्क लगायतका आवश्यक सामग्री खरिद गर्न १० लाख रुपैयाँ छुट्याएको छ। गत २१ गते वसेको कार्यपालिकाको बैठकले उक्त रकम छुट्याएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।