काठमाडौं- कोरोना भाइरस (कोभिड १९)को त्रासका अतिरिक्त साउदी अरेबिया र रसियाबीच चलेको पेट्रोलियम पदार्थको मूल्य युद्ध (प्राइस वार)ले संसारभरका लगानीकर्ताको मनोबल कमजोर बनाएको छ।
सोमबार यी दुई कारणले संसारका प्रमुख पुँजी बजारहरुमा भारी गिरावट आएको छ। अमेरिकामा ठूला कम्पनीहरुको कारोबार हुने सूचक डो जोन्स एकैपटक ७ प्रतिशतले घट्दा १५ मिनेटका लागि सर्किट ब्रेकर लगाइएको थियो। १५ मिनेटको कारोबार स्थगनपछि बजार खुलेको छ। यद्यपि लगानीकर्ताको कमजोर मनोबलले बजारलाई ओरालो गतिमा डोर्याएको छ।
डो जोन्स इन्डष्ट्रियल इन्डेक्स २ हजार अंकले घटेको छ। यो गिरावट ऐतिहासिक भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्। अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले सन् २००८ को आर्थिक संकटपछि विश्व अर्थतन्त्रमा सोमबार खराब दिन देखिएको उल्लेख गरेका छन्।
कोरोनाको संकट विश्वव्यापी हुँदै जाँदा अमेरिकासहित युरोपेली तथा एसियाका प्रमुख शेयर बजार ओरालो लागेका छन्। बजारमा निरन्तर गिरावट देखिँदा लगानीकर्ताहरुले यस सोमबारलाई 'कालो सोमबार'को संज्ञा दिएका छन्।
विश्वका ठूला शेयर बजारमा गिरावट आउँदा संसारभरका लगानीकर्ताले एकैपटक अर्बौं डलर सम्पत्ति गुमाएका छन्। समाचार संस्था एजेन्सी फ्रान्स प्रेसका अनुसार बैंकक शेयर बजार ८ प्रतिशतले घटेको छ। सिंगापुर, इन्डोनेसिया, फिलिपिन्स तथा मुम्बई (भारत)का शेयर बजार ६ प्रतिशतभन्दा माथिले घटेका छन्।
यसैगरी लण्डन तथा फ्र्यांकफर्ट (जर्मनी) शेयर बजार सूचक ८ प्रतिशतभन्दा माथिले ओर्लिएका छन्। फ्रेन्च बजार ४ प्रतिशतभन्दा धेरैले घटेको छ। कोरोना भाइरसको दवाबमा रहेको विश्व अर्थतन्त्रमाथि रुस र साउदी अरेबियाको तेल युद्धले थप निराश बनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।
रुसलाई दवाब बढाउन साउदी अरेबियाले तेलको मूल्य घटाउनुका साथै उत्पादन बढाउने घोषणा गरेसँगै तेलको मूल्य २७ प्रतिशतभन्दा धेरैले घटेको छ। अमेरिकी सञ्चारमाध्यम सिएनएनले कोरोनाले विश्व अर्थतन्त्रमा पारिरहेको प्रभावपछि लगानीकर्ता निराश बनेको उल्लेख गरेको छ। उसले साउदी अरेबिया र रुसको कदमपछि थप दवाब बढाएको विश्लेषण गरेको छ।
'तेल उत्पादन बढाउने साउदी अरेबियाको घोषणासँगै उत्पादन कटौती गर्ने ओपेकको निर्णय खारेज हुन पुग्यो, कोरोनाका कारण कमजोर बनिरहेको वित्तीय बजार ओरालो लाग्ने लहर चल्यो,' समाचार संस्था रोयटर्सले लेखेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।