काठमाडौं- फागु पूर्णिमा अर्थात रङहरुको पर्व होली पहाडी र हिमाली जिल्लाहरुमा हर्षोल्लासका साथ मनाइएको छ। उपत्यकालगायत देशभर उल्लासमय वातावरणमा होली पर्व मनाउने प्रचलन रहेपनि यो वर्षभने कोरोनाका भाइरसका कारण केही शान्त देखिएको छ। सरकारले भिडभाड भएर होली खेल्न निषेध गरेपछि यो वर्ष होलीको उल्लास खासै देखिएन।
नयाँ बानेश्वर, त्रिपुरेश्वर, ठमेललगायतका क्षेत्रमा उल्लासमय वातावरणमा होली खेलिने भएपनि यो वर्ष विगतभन्दा शान्त देखिएको हो। विश्वभर कोरोनाको संक्रमण फैलिएको सन्दर्भमा काठमाडौं जिल्ला प्रशासन कार्यालयले कुनै पनि औपचारिक कार्यक्रमका लागि स्वीकृति दिएको छैन। यद्यपि बसन्तपुरमा भने सर्वसाधारण तथा पर्यटकहरूको भिड देखिएको छ।
होलीका अवसरमा काठमाडौंको वसन्तपुरमा गाडिएको चिरलाई विधिपूर्वक ढाली बाजागाजासहित टुँडिखेलमा लगेर जलाउने चलन रहेको छ। चिरको खरानीको टीका लगाएमा अनिष्ट टर्छ भन्ने विश्वास रहेको छ। अष्टमीका दिन बसन्तपुरमा रहेको गद्दी बैठकअघि मेलको रुखलाई रङ्गीचङ्गी ध्वाजापताकासाथ सिँगारी गाडिएको चीरमा पूजाआजा गरेपछि फागु सुरु हुने गर्दछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।