काठमाडौं- कोभिड-१९ (कोरोना भाइरस)को प्रभाव नेपाली संकृतिमा पनि देखिएको छ। भाइरसकै कारण रंगहरुको पर्व हाेली रंगहिन बनेको छ।
फाल्गु पूर्णिमा अर्थात होलीका अवसरमा अघिल्ला वर्षहरुमा खचाखच हुने वसन्तपुर, टुँडिखेललगायत उपत्यका धेरै स्थान याे वर्ष सुनसान छन्। सडकमा हिडिरहेका एकादुई अनुहार पनि रंगहिन भेटिए। कतिपयकाे अनुहारहरुमा मास्कले होलीको रौनकता ढाकिदिएको छ।

अघिल्ला वर्षहरुमा रंग र लोलाहरुको वर्षा हुने उपत्काका गल्लीहरु पनि यसपटक सुनसान देखिएका छन्। हनुमानढोकास्थित वसन्तपुर दरबारपरिसरमा ठड्याइएको रंगीविरंगी कपडाहरुको ध्वजासहित तीन खण्डे चीर वरपर पनि रंगहिन अनुहारहरुको भीडमात्र देख्न सकिन्छ। वसन्तपुर दरबारपरिसरमा एकादुई बालबालिकाहरु र विदेशी नागरिकहरुमात्र रंगसँग खेलिरहेका भेटिए। उनीहरु पनि आ–आफ्नो समूहमा मात्र रंग खेलिरहेका थिए।

होलीको टिसर्ट र रंगको व्यापार गर्ने व्यापारिहरुलाई पनि यस वर्षको होलीले निराश बनाएको छ। ‘यस वर्षको होली त खत्तमै भयो। रंग बिक्री भएकै छैन’ न्यूरोड गेटस्थित सडकमा रंगहरुको पसल थापेका सप्तरीका राकेशकुमार ठाकुरले सुनाए। अघिल्ला वर्षहरुका होलीमा ५० हजारभन्दा बढीको रंगकाे व्यापार गर्ने उनीलाई यस वर्षको होलीमा एक हजारको व्यापार गर्न पनि मुस्किल भयाे।

विश्वमा कोरोना संक्रमण बढ्दै गएपछि संक्रमणबाट जोगिन भीडभाड तथा भेलाजस्ता कार्यक्रममा सहभागी नहुँन गृह मन्त्रालयले सूचना जारी गरेकाे थियाे। मन्त्रालयले यस वर्षकाे होलीमा विगतका वर्षहरुमा जसरी भीडभाड, भेला तथा जम्मा हुने र लोलापानी फ्याक्ने, शरीरमा अविर दल्नेलगायत कार्य जोखिमपूर्ण हुने भन्दै नगर्न/नगराउन भनेकाे थियाे।
.jpg)
.jpg)
.jpg)
.jpg)

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।