काठमाडौं- विश्व अर्थतन्त्रलाई कोरोनाले प्रभाव पार्न थालेसँगै सुन र डलरको भाउ थप आकाशिन थालेको छ।
कोरोनाले अर्थतन्त्रमा असर पारेपछि सुरक्षित लगानीको रुपमा सुन र डलरको माग बढिरहेको नेपाल राष्ट्र बैंकका विदेशी विनियम व्यवस्थापन विभागका प्रमुख बमबहादुर मिश्रले बताए। विश्वमै शेयर बजार लगातार ओरालो झर्न थालेपछि लगानीकर्ताहरुले सुरक्षित लगानीको रुपमा सुन र डलरमा लगानी गर्न थालेकाले केहि समयदेखि मूल्य आकाशिदै गएको मिश्रको विश्लेषण छ।
नेपाल राष्ट्र बैंकका अनुसार एक डलर बराबर नेपाली बिक्री दर ११८.२३ रुपैयाँ छ। त्यस्तै खरिद दर एक डलर बराबर ११७.७२ रुपैयाँ छ। एक सातामै नेपाली बजारमा डलरको भाउ तीन रुपैयाँले बढेको छ। एक महिना अगाडि प्रति डलर नेपाली मूल्य ११३ रुपैयाँ थियो।
लगानीकर्ताहरुले डलर खरिद गरेर राख्न थालेपछि स्वभाविक रुपमा मूल्य बढ्दै गएको मिश्रले बताए। जबजब अर्थतन्त्रमा संकट देखा पर्दै जान्छ त्यतिबेला सुरक्षित लगानीको रुपमा डलर र सुनमा लगानी गर्ने चलन बढी छ। शेयर बजार उच्च विन्दुबाट तल झर्न थाले पछि शेयर बजारमा लगानीकर्तासमेत शेयर बिक्री गर्दै सुन र डलर खरिद गर्न थालेका हुन्।

कुनै पनि कुराको प्रभाव देखिन कम्तिमा पनि ६ महिना लाग्छ। यसलाई 'ल्याक टाइम'को रुपमा हेरिन्छ। कोरोनाको प्रभाव देखिन थालेको भर्खर दुई महिना भयो। तर यसको प्रभाव देखिन कम्तिमा पनि छ महिना लाग्ने मिश्र बताउँछन्। तर लगानीकर्ताहरुले आगामी छ महिना पछिको बजारको अनुमान लगाउँदै अहिलेदेखि नै कारोबार गर्ने भएकाले सुन र डलरमा होल्ड गर्ने ट्रेण्ड बढेको हो।
कोरोनाले हालसम्म ९० वटा भन्दा बढी देशमा प्रभाव पारिसकेको छ। यसले चार हजारभन्दा धेरै मानिसको ज्यान लिइसकेको छ। चीनसँगै युरोपियन देशहरुमा पनि यसको संक्रमण दर बढ्न थाले पछि ती देशको आर्थिक क्रियाकलापमा मन्दि आउने प्रक्षेपण गरिएको छ। यसको असर धेरै लामो समयसम्म देखिन सक्ने हुँदा लगानीकर्ताहरुले सुरक्षित लगानीको क्षेत्र खोजिरहेका हुन्छन्।

सुनको भाउ पछिल्लो ६ महिनाको अवधिमा प्रति औन्स १६४ डलरले बढिसकेको छ। बढ्ने क्रम जारी छ। हाल अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रति औन्स १६७४ डलर छ। नेपालमा पनि सुनको भाउले दिनदिनै नयाँ रेकर्ड बनाउँदै आएको छ। नेपाली बजारमा सुनको भाउ ८२ हजार ५०० रुपैयाँ पुगिसकेको छ।
केहि दिन यता नेपालको शेयर बजार पनि कोरोनाको प्रभावले घटिरहेको विश्लेषण गरिएको छ। विश्वको अर्थतन्त्रणले नेपालको बजारमा खासै ठुलो प्रभाव पार्दैन। निर्यातमुखी देशहरुको अर्थतन्त्र अहिले सहज अवस्थामा छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।