काठमाडौं- कृषि तथा पशुपन्छी विकास मन्त्रालय र सातै प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री तथा सचिवहरू आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटको तयारीमा जुटेका छन्। आइतबार कृषि तथा पशुपन्छी विकासमन्त्री धनश्याम भुषालले सातवटै प्रदेशका मन्त्रीहरूसँग गरेको छलफलपछि कृषि क्षेत्रका अधिकांश नीति, कार्यक्रम तथा योजनाहरूको पुनर्संरचना गर्ने सहमति भएको छ।
समन्वय बैठकको पहिलो दिन भएको छलफलमा भूषाल र प्रदेशमन्त्रीहरुले आगामी आर्थिक वर्षको कृषि योजनाबारे आफ्नो धारणा राखेका थिए।
अहिलेसम्म कृषिमा चल्दै आएका अभ्यास र कार्यक्रमले नेपालको कृषिको विकास सोचेअनुरूप हुन नसकेका कारण अब कृषिका सबै नीति, कार्यक्रम र योजनाहरुको पुनर्संरचना गरिनुपर्छ भन्नेमा सबै मन्त्रीहरू सहमत भएको छलफलमा सहभागी एक अधिकारीले भने।
संघीय मन्त्री र प्रदेश मन्त्रीहरूबीच नेपालको कृषि विकासका लागि आगामी योजना, नीति, कार्यक्रम र बजेटका बारे प्रि-बजेट समन्वय बैठक बोलाइएको हो।
‘संघ-प्रदेश-स्थानीय तहबीचके समन्वयमा कृषिको आगामी नीति, कार्यक्रम, योजना र बजेट ल्याउन खोजिएको हो। बजेट निर्माणदेखि कार्यान्वयनसम्म प्रत्यक्ष रूपमा सहकार्य गरेर अगाडि बढ्ने निष्कर्ष पनि आइतबारको बैठकबाट निकालिएको छ,’ श्रोतले भन्यो।
संघ र प्रदेश सरकारबीचको छलफल बैठक सोमबार पनि चल्नेछ। बैठक सकिएपछि चाँडै नै स्थानीय तहसँग पनि यस्तै समन्वय बैठक संघले आयोजना गर्ने मन्त्रालयले जनाएको छ। कृषिका सबै विषयमा तीनवटै तहका सरकारको समन्वयात्मक ढंगले काम गर्ने सकियोस भन्ने उद्देश्यले यस्तो छलफल गर्न लागिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।