काठमाडौं– उनको उमेर ५९ वर्ष भयो। लखनउकी एउटी मुस्लिम महिला जसले बारम्बार मलेसिया, पाकिस्तान र बंगलादेशको यात्रा गरेकी छन्। मुस्लिम बाहुल्य यी देशमा उनको भ्रमणको उद्देश्य सामाजिक रहेको उनलाई दिइएको भिसाले स्पष्ट हुन्छ। बुर्काधारी यी महिलाको प्रारम्भिक बयानमा कोकिन दिल्लीकी ‘बहनजी’ का लागि लिन आएको बताए पनि ती बहनजीका विषयमा प्रहरी र महिला दुवै अनभिज्ञ छन्।
लागुऔषध नियन्त्रण ब्युरोले शनिबार २ किलो ७ सय ग्राम कोकिनसहित पक्राउ गरेको लखनउकी कमर जहन लखनउबाट दिल्ली हुँदै काठमाडौं आएकी थिइन्। उनको जिम्मेवारी थियो, बोलिभियाबाट काठमाडौं आएको कोकिनको पोको दिल्ली पुर्या उनु। तर त्यसअघि नै उनी र बोलिभियन युवा ब्युरोको फन्दामा परे। ब्युरोको हिरासतमा रहेकी जहनले प्रारम्भिक बयानमा बोलिभियाबाट आएको कोकिन उनले काठमाडौंबाट दिल्ली पुर्याेउन आएको बताएकी छन्। दिल्लीमा रहेकी ‘बहनजी’ का लागि कोकिन बोक्न जहन काठमाडौं ओर्लिएकी थिइन्।
‘पासपोर्ट हेर्दा उनले बारम्बार विभिन्न देशको यात्रा गरेको देखिन्छ, तर उनलाई यात्रा गर्नुपर्ने आवश्यकता प्रारम्भिक अनुसन्धानमा देखिँदैन,’ ब्युरोका प्रमुख डिआइजी ठूले राई भन्छन्। जहनले मलेसिया, बंगलादेश र पाकिस्तानबाहेक अफ्रिकी देश मोजाम्बिसम्मको यात्रा गरेकी छन्।
ब्युरोका अनुसार ५ दिनअघि बोलिभियामा रहेका नाइजेरियन नागरिक रफक्वाइन कोलेन्सले पठाएको कोकिन बोकेर २७ वर्षे अधेमर एनेज लोपेज काठमाडौं आइपुगेका थिए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनलाई ब्युरोको टोलीले पछ्याएको थियो। अन्तर्राष्ट्रिय लागुऔषध नियन्त्रण ब्युरोको सूचनाका आधारमा लोपेजको पिछा गरेको टोलीले ५ दिनसम्म उनी बसेको ठमेलको एक होटलमा डेरा जमाएको थियो। त्यसबीच मुस्किलले ३ पटक होटलबाहिर निस्किएका लोपेज, निरन्तर कोकिन कारोबारीको सम्पर्कमा थिए। शनिबार दिल्लीबाट आएकी जहनलाई कोकिन दिँदै गर्दा ब्युरोले दुवैलाई पक्राउ गरेको हो।
‘प्रारम्भिक अनुसन्धानमा कोकिन तस्करीको पुरानै शैली देखिएको छ, हामीले समकक्षी प्रहरी र इन्टरपोलमार्फत सञ्जालका थप सदस्यको विषयमा खोजी गरिरहेका छौं,’ डिआइजी राईले भने।
कालो कोकिन
ब्युरोले यसअघि विभिन्न समयमा बरामद गर्ने कोकिनको रङ सेतो भए पनि यसपटक बरामद भएको कोकिनको रङ कालो छ। उत्पादक देशबाट आएको र प्रारम्भिक जाँचमा बरामद वस्तु कोकिन नै भएको ठहर ब्युरोले गरेको छ। तर कालो रङबारे ब्युरो समेत अलमलमा रहेको छ।
‘चेकजाँचमा सजिलो होस् भनेर कालो बनाएको हो कि भन्ने आशंका गरेका छौं, एक्सरे जाँचमा समेत छक्याउन सजिलो होस् भनेर हुन सक्छ,’ डिआइजी राई अनुमान गर्छन्। कोकिन नेपालमा खपत हुँदैन। तर केही वर्षयता काठमाडौंबाटै उल्लेख्य मात्रामा बरामद भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।