काठमाडौं- नेपालले साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत बंगलादेशमा कृषि उपज निर्तायको समझदारी गरेको छ।
वाणिज्य सचिवस्तरीय दुई पक्षीय वार्तामा नेपाली उत्पादन बंगलादेश निर्यातका लागि आवश्यक प्रबन्ध मिलाउने र सरकारी संस्थानमार्फत् निर्यात गर्ने गरी समझदारी गरिएको हो।
साल्ट ट्रेडिङ र ट्रेडिङ कर्पोरेसन अफ बंगलादेशबीच भएको समझदारीमा खाद्य वस्तु बिक्री वितरणको समझदारी बनेको छ।
नेपालमा उत्पादन भएका वस्तु बंगलादेश निर्यात गर्ने तथा बंगलादेशमै साल्ट ट्रेडिङको कार्यालय खोलेर व्यापारसमेत गर्न सक्ने गरी समझदारी बनेको छ वाणिज्य सचिव डा बैकुण्ठ अर्यालले जानकारी दिए।
यो समझदारी बनेसँगै अब दुई पक्षबीचको छलफलबाट निर्यातयोग्य वस्तु पहिचान हुनेछ। वस्तु पहिचान भएसँगै नेपाल र बंगलादेशी पक्षबीच हुने सम्झौतापश्चात साल्ट ट्रेडिङले बंगलादेशमा वस्तु निर्यात गर्न सक्नेछ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र बंगलादेशी पक्षबीच खाद्य प्रविधि सुरक्षाका विषयमा पनि समझदारी बनेको छ।
२० वस्तुमा भन्सार छुटको प्रस्ताव
छलफलमा नेपालले २० वस्तुमा भन्सार छुट दिन बंगलादेशलाई प्रस्ताव गरेको छ। बंगलादेशमा निर्यातको अधिकतम संभावना रहेका ती वस्तुको सहज निर्यातका लागि सहुलियत दिन नेपालले माग गरेको हो।
नेपालले बंगलादेश निर्यातको उच्च संभावना रहेका खाद्यान्न, तरकारी, सिमेन्ट तथा धागको निर्यातका लागि सहज वातावरण तयार गर्न प्रस्ताव गरेको हो।
नेपालको प्रस्तावसँगै बंगलादेशले पनि आफ्नो देशबाट नेपालमा निर्यात भइरहेका मेसिनरी पाटपुर्जा तथा जुसलगायतका पदार्थमा सहुलियतको माग गरेको छ।
नेपालले निर्यातमा प्रतिबन्ध लगाएको जुसमा पनि उसले चासो देखाएको छ। नेपाल र बंगलादेशका भन्सार अधिकारीहरुको छुट्टै बैठक पनि सम्पन्न भइसकेको छ।
सचिवस्तरीय बैठकअघि भएको छलफलमा नेपालबाट निर्यात हुने वस्तु बंगलाबन्द नाकाबाट बंगलादेश प्रवेशको सुविधा दिन नेपालले प्रस्ताव गरेको थियो। भन्सार विभागका महानिर्देशक सुमन दाहाल नेतृत्वको टोलीले वार्ता गरेको थियो।
चालु आर्थिक वर्षको पहिलो ७ महिनामा नेपालले बंगलादेशबाट ४ अर्ब २५ करोड रुपैयाँको वस्तु आयात गरेको छ। यो अवधिमा नेपालबाट ८५ करोड ८७ लाख रुपैयाँको वस्तु निर्यात भएको छ। नेपालले ३ अर्ब ३९ करोड रुपैयाँ व्यापार घाटा व्यहोरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।