दमास्कस- इरानी रिभोलुसनरी गार्डका सैन्य कमाण्डरको शुक्रबार सिरियाको राजधानी दमास्कसमा गोली हानी हत्या गरिएको छ। गार्डका प्रमुख मेजर जनरल कासिम सुलेमानीको केही समय पहिले इराकमा भएको अमेरिकी आक्रमणमा मृत्यु भएको थियो।
उक्त संगठनका उच्च कमाण्डर फारहद दाविरियनलाई आवाजहीन अत्याधुनिक हतियारको प्रयोग गरी हत्या गरिएको सिरियाली युद्ध अनुगमनकारी संस्थाले जनाएका छन्।
सिरियाली मानव अधिकारवादी संस्था, सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार दाविरियनलाई दमास्कसको दक्षिण क्षेत्रमा रहेको सायिदा जायनब भन्ने इलाकामा मारिएको थियो।
संस्थाकाअनुसार दाविरियनले इजरायलद्वारा नियन्त्रण गरिएको गोलन हाइट्स र पालमिरामा इस्लामिक स्टेटका लडाकूहरूको नेतृत्व गर्दै आएको बताइएको छ। उनी लेबनानी सिया हेजबुल्ला समूहका महासचिव हसन नसरल्लाको निकटस्थ रहेर काम गर्दै आएको पनि उक्त संस्थाले जनाएको छ।
हत्याबारे थप विवरणहरू प्राप्त हुन सकेका छैनन् तर शुक्रबार इजरायलले इरान निकट मानिने सिरियाली लडाकू दस्तालाई लक्षित गरी केही हवाई आक्रमण गरेको पुष्टि स्थानीयले गरेका छन्।
सिरियाली राष्ट्रपति बसर अल असदको सेनालाई इरानले हतियार तथा सैन्य सहयोग गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।