काभ्रे- स्थानीय तहले नियमन गर्न नसकेका कारण सहकारी संस्था भद्रगोल अवस्थामा पुगेको सरोकारवालाहरूले बताएका छन्।
नेपाल सहकारी पत्रकार समाज (सिजेएन) र सहकारी विभागले काभ्रेको धुलिखेलमा आयोजना गरेको ‘स्थानीय तहमा सहकारी’ विषयक छलफल कार्यक्रममा बोल्ने जनप्रतिनिधि तथा कर्मचारीले सहकारीलाई प्राथमिकता दिन नसकेको स्वीकारको हुन्। सहकारी क्षेत्रको प्रशासनिक व्यवस्थापन गर्न असहज भएको काभ्रेका स्थानीय तहको अनुभव सुनाएका छन्।
देश संघीयतामा गएसँगै सहकारी दर्ता, नियमन र खारेज गर्ने अधिकार स्थानीय तहलाई छ। स्थानीय तहको मातहतमा २९ हजार, प्रदेश मातहतमा ६ हजार र एक सय १८ वटा सहकारी सहकारी विभाग अन्तर्गत छन्। स्थानीय तहले सहकारीमा ध्यान दिन नसक्दा विकृति बढ्न थालेको छ। कर्मचारी अभाव हुनुका साथै स्थानीय तहमा सहकारी उपेक्षामा पर्दा वित्तीय जोखिम बढ्दै गएको सरोकारवालाहरु बताउँछन्।
काभ्रेपलाञ्चोक जिल्ला सहकारी संघका सचिव दिलीप शर्माले तत्कालिन समयमा डिभिजन कार्यालयले १ हजार ४ सय ९७ सहकारीको पोको हस्तान्तरण गरेपनि स्थानीय तहले अद्यावधिक गर्न नसकेको बताए। शर्माका अनुसार फिल्डमा गएर कुन सहकारी सक्रिय छ र कुन निष्क्रिय छ भन्ने छुट्याउन समस्या भइरहेको बताए।
मण्डनदेउपुर नगरपालिका उपप्रमुख निर्मला शाही स्थानीय सरकार आफैं अलमलमा परेका कारण सहाकारी क्षेत्रलाई व्यवस्थित गर्न नसकेको स्वीकार गरिन्। ‘सहकारी मात्र होइन, हामीले स्थानीय सरकार संचालन सम्बन्धी कानुनका आधार निर्माण र कार्यान्वयन गर्नुपर्ने भएकाले धेरै कुरामा अफ्ठेरो छ’ उनले भनिन्। स्थानिय तहमा कर्मचारी अभावका कारण सबै क्षेत्रलाई महत्व दिन नसकेको उनको भनाइ छ।
पाँचखाल नगरपालिका उपप्रमुख लक्ष्मी दनुवारले सहकारी क्षेत्र उत्पादन र बजारीकरणलगायत ग्रामीण अर्थतन्त्रसँग जोडिएको भएपनि प्राथमिकतामा पर्न नसकेको बताइन् । ‘सहकारी क्षेत्रका बजेट र कर्मचारी व्यवस्था गर्न सकेका छैनौं’ उनले भनिन् ‘पछिल्लो समयमा हामीले प्राथमिकताका आधारमा बजेट र कर्मचारी व्यवस्थापन गर्दै छौं ।’
पनौती नगरपालिकाका सहकारी रजिस्ट्रार इन्द्रप्रसाद अधिकारीले सहकारी स्थानीय तहको पहिलो प्राथमिकता बन्नुपर्ने बताए। ‘धेरै तहमा सहकारी क्षेत्रको अनुगमन तथा निरीक्षणका लागि कार्यििध बन्ने क्रममा छ,’ उनले भने। सहकारी व्यवस्थापन गर्न स्थानीय तह पूर्णरुपमा सक्षम भएको भन्दै उनले केही तहले भने बेवास्ता गरेको बताए।
राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले योजना बिनै स्थानीय तहमा सहकारी हस्तान्तरण गर्दा भद्रगोल अवस्था आएको बताए। समस्या समाधानका लागि सहकारी अभियान हरेक स्थानीय तहसँग समन्वय गर्न तयार रहेको उनको भनाइ छ।
पत्रकारिता तालिम सम्पन्न
यसैबीच नेपाल सहकारी पत्रकार समाज (सिजेएन) र सहकारी विभागको संयुक्त आयोजनामा दुई दिने सहकारी पत्रकारिता तालिम शनिबार धुलिखेलमा सम्पन्न भएको छ।
तालिममा सहकारी विभागका रजिष्ट्रार डा.टोकराज पाण्डे, राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रिकुमार गुरागाई, नेपाल सहकारी पत्रकार समाजका संस्थापक अध्यक्ष यादव हुमागाई, समस्याग्रस्त सहकारी छानबिन समितिका पूर्व सदस्य दिपकप्रसाद पौडेलले कार्यपत्र प्रस्तुत गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।