काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा राम्रो सुधार आइरहेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ।
मिर्गौला प्रत्यारोपण गरिएको चौँथो दिनमा प्रधानमन्त्री ओलीको स्वास्थ्यमा राम्रो सुधार आइरहेको अस्पतालले जनाएको छ। उनको भाइटल र ल्याब सूचकांकहरु सामान्य अवस्थामा रहेको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
ओलीलाई हिडडुल गराउनुका साथै फिजियोथेरापी गराइरहेको अस्पतालका कार्यकारी निर्देशक प्राड. प्रेम कृष्ण खड्गाले बताए। प्रधानमन्त्री ओलीलाई मिर्गौला दिने भान्जी समीक्षा संग्रौलाको पनि स्वास्थ्यमा राम्रो सुधार आइरहेको अस्पतालले जनाएको छ। उनको पनि भाइटल तथा ल्याब सूचकांकहरु सामान्य अवस्थामा रहेका छन्।
प्रधानमन्त्री ओलीको गत बुधवार मिर्गौला प्रत्यारोपण गरिएको थियो। अहिलेको स्थितिमा उनको स्वास्थ्यमा सुधार आए एक हप्ताभित्र डिस्चार्ज गरिने प्रधानमन्त्रीको निजी चिकित्सक मिर्गौला रोग विशेषज्ञ डा दिव्या सिंह शाहले बताइन्। उनका अनुसार नियमित काममा फर्कन प्रधानमन्त्री ओलीलाई करीब एक महिना लाग्छ।
संक्रमणबाट बचाउन आवश्यक रहेकाले अझै करीब एक हप्ता नजिक भएर भेटघाट गर्न नदिने उनले बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।